निर्वाचनको लागि दल र उमेदवारले छुट्टै बैंक खाता खाेल्न राष्ट्र बैंककाे निर्देशन
नेपाल राष्ट्र बैंकले आसन्न निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ।
निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
परिपत्रअनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार बनेका व्यक्ति (समानुपातिक उम्मेदवार समेत) तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन अवधिसम्म सञ्चालन हुने गरी एक मात्र बैंक खाता खोल्नुपर्नेछ। निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च यही खातामार्फत गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार आमनिर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्म ती खाता सञ्चालनमै रहनेछन्।




