कांग्रेस संस्थापन पक्षकाे पत्रकार सम्मेलन अचानक किन गरियाे स्थगित ?
महाधिवेशन विवादले थलिएकाे कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन अचानक स्थगित गरिएको छ । दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाएको सन्दर्भमा पार्टीको संस्थागत धारणा सार्वजनिक गर्न खड्काले पत्रकार सम्मेलन बोलाएका थिए ।
पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाए पनि अचानक स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
हिजै मात्रै केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै बोलाउन सकिने भनेर फिर्ता लिन अपील गरेको थियो ।
साथै नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको निर्णय गरेको थियो ।
विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको सहभागितामा नेतृत्व नै परिवर्तन गर्ने जोखिम बढेपछि संस्थापन पक्ष महाधिवेशन प्रतिनिधिलाई रोक्ने कसरतमा जुटेको छ ।
संस्थापन पक्षको बहुमत रहेको केन्द्रीय कार्यसम्पादन समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै सहभागी नहुन अपिल गरेको छ ।




