खुलामञ्च खुला गरियाेस्, राष्ट्रकै लज्जाकाे विषय भयाे : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुलामञ्च खुला गर्न जाेडदार माग गरेका छन् ।
पार्टीको बागमती प्रदेश, उपत्यका प्रदेश र सम्पर्क प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले सरकार र काठमाडाैं महानगरपालिकासँग सो माग गरेका हुन् । कम्तीमा एक लाखसम्म मान्छे अट्ने चौर वा मञ्च नहुने देशकै लागि लज्जाको विषय भयाे, उनले भने ।
‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५०/६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।
उनले यो सभाको आयोजना गर्दैगर्दा सरकार, महानगर र टुँडिखेलमा सम्भावना छ कि भनेर टुँडिखेलमा पनि आयोजना गर्ने, जनसमुदायलाई सहज ढंगले बसेर हाम्रो कुरा सुन्ने वातावरण बनाउने पहल गरिएको बताउँदै सफल हुन नसकेकाे जानकारी दिए ।




