उमेदवार बन्न चाहनेले भ्रष्टाचार मुद्वा नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा आफ्ना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भए/नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भ्रष्टाचारको कसूरमा अनुसन्धान भए/नभएको विषय स्वघोषणामा उल्लेख गर्न लागिएको बताए।
‘यो व्यवस्थाले उम्मेदवारलाई नैतिक जिम्मेवार बनाउन आयोगले राख्न लागेको हो,’ भट्टराईले भने, ‘मनोनयनपत्र दर्ता गर्दा यो स्वघोषणा साथै राख्नुपर्ने छ।
त्यस्तै कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्याए/नपुर्याएको पनि स्वघोषणा गर्नुपर्नेछ।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०८९ को दफा १८ को उपदफा ६ अनुसार आयोगले यस्तो स्वघोषणाको व्यवस्था गरेको हो।
यो निर्देशिका आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई कार्यान्वयन गर्न बनाएको हो। यद्यपि कानुनमा भने भ्रष्टाचारको कसूरमा अनुसन्धान भइरहेको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बन्न रोक लगाइएको छैन।




