पुस ५ गते नेपाली कम्युनिस्ट पार्टीले राजधानीमा विशाल एकता सभा गर्दैं, कस्तो छ तयारी ?
नेपाली कम्युनिस्ट पार्टीले राजधानी काठमाडौंमा विशाल एकता सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १६ वाम दल र घटक तथा समुहबीच एकता भएर बनेकाे नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते काठमाडौंकाे भृकुटीमण्डपमा विशाल सभा गर्न लागेकाे हाे ।
पार्टीको ३ वटा प्रदेश समितिहरू बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशकाे संयुक्त आयाेजनामा गर्न लागिएको सभाकाे नाम एकता सन्देश सभा राखिएकाे छ ।

एकतापछि देशव्यापी प्रदेश स्तरका सभाहरू गर्ने अभियानकै निरन्तरतामा याे एकता सन्देश सभा गर्न लागिएको माओवादी केन्द्रका वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पाैडेलले बताए । उनलेे बागमती प्रदेश अन्तरगत रहेका १३ जिल्लाबाट नेता कार्यकर्ताहरू सभामा सहभागी हुने जानकारी दिए । उनलेे त्यसकाे लागि सबै जिल्ला र पालिका तहमा प्रशिक्षण र बैठकहरू भइरहेको बताए ।
एकता सन्देश सभाकाे तयारी अन्तिम चरणमा पुगेकाे उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले जानकारी दिए । उनले उपत्यका विशेष प्रदेश समिति अन्तरगतका ६ वटा महाशाखा र शाखाहरूबाट नेता कार्यकर्ता र सदस्यहरू सभामा सहभागी हुने बताए । उनले सभामा पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयाेजक माधव कुमार नेपाल लगायतका नेताहरूले सम्वाेधन गर्ने बताए । उनलेे सभामा १ लाखकाे सहभागीता हुने र सभा व्यवस्थित र भव्य हुने बताए ।
सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी विवेकले सम्पर्क समन्वय प्रदेश अन्तरगत राजधानीमा रहेका सबै प्रदेशका नेता कार्यकर्ताकाे सहभागीता हुनेगरी तयारी गरिएको बताए । उनले याे सभाले राजधानी र देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत एकताको सन्देश प्रवाह गर्ने र नेपाली कम्युनिस्ट पार्टी नयाँ ढंगबाट स्थापित हुने बताए ।
नेपाली कम्युनिस्ट पार्टीले सुदुरपश्चिमकाे धनगढीबाट शुरू गरेको एकता सभा अभियान लुम्बिनीकाे दाङ, गण्डकीकाे पाेखरा, मधेसकाे जनकपुर, काेशीकाे विराटनगर, कर्णालीकाे सुर्खेतमा सम्पन्न गरिसकेको छ । ति सभाहरूमा हजारौं जनसमुदाय र नेता कार्यकर्ताकाे उपस्थिति भएको थियाे भने सयाैं युवा तथा जेन्जि पुस्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।




