एमालेमा महाधिवेशन प्रतिनिधि छनाैट, ईश्वरपक्षीय नेता, सांसद र जनप्रतिनिधि धेरै पराजित

मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर

नेकपा एमालेको एघारौँ महाधिवेशनको प्रतिनिधि छनोटकाे चरण सकिएको छ । प्रतिनिधि छनाैटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री, सांसद, जनसंगठन र जिल्ला अध्यक्षहरू नै पराजित भएका छन् ।

कोशीमा प्रतिनिधि छनोटमा संखुवासभाको खाँदबारीका पूर्वमेयर मुरारी खतिवडाका साथै प्रदेशका तीन प्रदेश सभा सदस्य पराजित भएका छन् । सुनसरी १ का प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र विजयकुमार राई महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका हुन् । झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राधाकृष्ण खनाल पनि पराजित भए ।

बागमती प्रदेशमा सर्वसम्मत प्रतिनिधि चयनका क्रममा दुई जिल्ला अध्यक्ष, एक पूर्वमन्त्री र एक प्रदेश सांसद निर्वाचित हुनबाट वञ्चित भएका छन् । भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा सर्वसम्मत चयन हुँदा पनि छनोट भएनन् ।मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेल चुनावमा पराजित भए । दुवैजना पूर्वराष्ट्रपति भण्डारीनिकट मानिन्थे । प्रदेश सांसद जयराम थापा, पूर्वप्रदेशमन्त्री कृष्णप्रसाद सिलवाल पनि प्रतिनिधि बन्न सकेनन् ।

गण्डकी प्रदेश सभा सदस्य लक्ष्मणबहादुर पाण्डे पराजित भएका छन् । आठजना उम्मेदवारमध्ये उनी अन्तिम दुईमा परेका थिए । पर्वतमा संविधानसभा सदस्य तथा पूर्वप्रदेशमन्त्री विकास लम्साल प्रतिनिधि बन्नबाट वञ्चित भए ।

कर्णालीकाे रुकुम पश्चिमबाहेक सबै जिल्लामा सर्वसम्मत चुनिएको बताइएको छ ।

आसन्न महाधिवेशनमा अध्यक्षमा केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने भएपछि प्रतिनिधि निर्वाचनमा फरक परिणाम आएको हो । परिणाम अध्ययन गर्दा ओलीकाे विपक्षमा अभिव्यक्ति दिने र इश्वरकाे पक्षमा खुल्ने नेताहरू  प्रतिनिधि बन्नबाट बञ्चित बनेका छन् ।