कांग्रेस विवाद मिलाउन देउवा सक्रिय, महाधिवेशन तालिका ल्याउने तयारी

मूलखबर संवाददाता
काठमाडौं, १४ मंसिर

नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनअघि नै पार्टीको नियमित १५औँ महाधिवेशनको तालिका ल्याएर विवाद समाधान गर्न तयार भएका छन् ।

शनिबार पार्टी पदाधिकारी र नेताहरूसँगको छलफलमा देउवाले चुनावअघि महाधिवेशन गर्न सकिने मितिमा सहमति खोज्न आग्रह गरेका छन् ।

आफू निकटस्थ नेताहरूसँग थप छलफल गरेर आइतबारसम्म सहमति खोज्ने र सोमबारको केन्द्रीय समितिबाट नियमित महाधिवेशनको कार्यतालिका पारित गर्दै विवाद मिलाउने देउवाको तयारी छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवाको प्रस्तावलाई सर्तसहित मान्न तयार रहेको उल्लेख गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूले पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै महाधिवेशन टार्न खोजिए विधानत: विशेष महाधिवेशन प्रक्रिया सुरु हुने चेतावनी दिएका छन् ।

नेताद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिका बहुमत सदस्य आफूहरूसँग रहेको भन्दै निर्वाचनअघि महाधिवेशनमा जान नसकिने बताएका छन् ।