एमाले महाधिवेशन प्रतिनिधि छनाैटमा कडा प्रतिस्पर्धा, एक दर्जन बढी जिल्लामा निर्वाचन, धनकुटामा ताेडफाेड
जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको तिब्र दबाबमा परेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा कडा प्रतिस्पर्धा भएको छ । सबै जिल्लामा सर्वसम्मत गर्न प्रयास भए पनि एक दर्जनभन्दा बढी जिल्लामा निर्वाचन भएको हो ।
शनिबार ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो ।
उपत्यकाका काठमाडौं र ललितपुरमा सर्वसम्मत प्रतिनिधि चयन गर्ने प्रयास भए पनि निर्वाचन भएको छ । भक्तपुरमा भने सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । काठमाडौंको निर्वाचन क्षेत्र १० मा सर्वसम्मत भए पनि नौ क्षेत्रमा निर्वाचन भएको छ ।
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले एक दर्जनभन्दा बढी जिल्लामा निर्वाचन भएको बताए । उनका अनुसार धनुषा, महोत्तरी, मकवानपुर, कञ्चनपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, झापा, रुकुम पश्चिम, मोरङ, लमजुङ, तनहुँ र गोरखालगायत जिल्लामा प्रतिनिधि चयन गर्न चुनाव भएको छ, ।
धनकुटामा प्रतिनिधि छनाैटमा धाँधली भएको भन्दै कुटपिट र कार्यलय ताेडफाेड गरिएको छ ।
मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने एमालेको महाधिवेशनमा करिब दुई हजार ३ सय प्रतिनिधिले भाग लिनेछन् । सबै जिल्ला र १ सय ६५ निर्वाचन क्षेत्रबाट एक हजार दुई सय सदस्य बराबर एक प्रतिनिधि, त्यसमा ४० वर्षमुनिका एक युवा हुनुपर्ने र कम्तीमा एक जना महिलासहित ४ प्रतिनिधि छानिने विधि तय भएको छ ।
महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य ३ सय ५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्बाट २५ सीधै चयन हुने व्यवस्था एमालेकाे विधान अधिवेशनमा पारित गरिएको थियाे ।
एमालेकाे अध्यक्ष पदमा केपी ओलीको विरूद्व उमेदवार बन्ने घाेषणा वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले गरेपछि प्रतिनिधि छनाैटमा पनि कडा प्रतिस्पर्धा देखिएकाे हाे ।




