जेन्जी तथा युवाहरू नै सुन्दर नेपालकाे भविष्य निर्माणकाे आधार हुन् : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ६ मंसिर

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी तथा युवाहरू नै नेपालकाे सुन्दर भविष्य निर्माणकाे आधार भएको बताउनुभएको छ ।

(जेनरेसन जी) पुस्ताको पछिल्लो आन्दोलनले नेपाललाई मात्र नभई विश्वभरि छरिएका नेपालीहरूलाई समेत झकझकाएको र नयाँ चेतना तथा ऊर्जातर्फ अघि बढ्न बाध्य पारेको उहाँको भनाइ छ ।

शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी जेनजी युवाहरूलाई स्वागत गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “जेनजी युवाहरूको आन्दोलनले देशलाई राम्रोसँग हल्लाइदियो। यो आन्दोलनले नयाँ चेतनातर्फ अगाडि बढ्न उत्प्रेरित मात्र गरेन, बाध्य पनि पार्यो।”

प्रचण्डले जेनजी युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीले २३ गते अगाडिदेखि नै उठाउँदै आएको दाबी गर्नुभयो। “विगतका गल्ती–कमजोरीलाई सुधारेर नयाँ ढङ्गले नेपाल निर्माण गर्ने संकल्प लिने अवस्था तपाईंहरूले पैदा गरिदिनुभएको छ,” उहाँले थप्नुभयो।

आफ्नो राजनीतिक जीवनको स्मरण गर्दै प्रचण्डले १६ वर्षको उमेरमा पार्टीमा जोडिएको, २७ वर्षको उमेरमा अखिल नेपाल युवक संघको अध्यक्ष भएको र ३५ वर्षमै पार्टीको प्रमुख जिम्मेवारी सम्हालेको बताउनुभयाे । जनयुद्धको पृष्ठभूमि र त्यसपछिका राजनीतिक परिवर्तनहरूलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै उहाँले अब देश निर्माणको जिम्मेवारी जेनजी पुस्तालाई नै सुम्पने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“अब मुलुक बनाउने मुख्य जिम्मेवारी तपाईंहरू जेनजी पुस्ताकै काँधमा आइपुगेको छ। हाम्रो पार्टीले यो विषयमा निरन्तर छलफल गर्दै आएको छ,” प्रचण्डको भनाइ छ।

कार्यक्रममा काठमाडौँ उपत्यका र आसपासका विभिन्न जिल्लाबाट ३ सय बढी जेनजी युवाहरू नेकपामा प्रवेश गरेका थिए। उनीहरूलाई संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा अंकित खादा र अविर–माला लगाएर  स्वागत गर्नुभएको थियो।