जेनजी आन्दोलनमा पक्राउ परेका धेरैजसोकाे पृष्ठभुमी अपराधिक : प्रहरी
जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडसहितका घटनामा संलग्नहरु अधिकांश अपराधीक पृष्ठभुमिका पाइएको प्रहरीले जनाएको छ । विभिन्न हिंसक घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म ३७५ जना पक्राउ परेका र तीमध्ये १४१ जनामाथि मुद्दा चलाइएको गृह मन्त्रालयले जनाएको छ।
उनीहरूमाथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजानाजस्ता कसुरमा मुद्दा चलाइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
जाहेरी पर्ने क्रम जारी रहेकाले पक्राउ पर्नेको सङ्ख्या बढ्दै जाने सम्भावना भएको काफ्लेले बताए। मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार काठमाण्डाैं उपत्यकाबाट सबैभन्दा धेरै २१८ जना पक्राउ परेका छन्। कर्णाली प्रदेशमा चार जनालाई प्रहरीले समातेको छ। हालसम्म कोशीबाट ३० जना, मधेशबाट २१ तथा उपत्यकाबाहेक बागमतीका अन्य जिल्लाबाट ३३ जना पक्राउ परेका छन्। त्यस्तै गण्डकीबाट ३२, लुम्बिनीबाट २९ र सुदूरपश्चिमबाट आठ जना पक्राउ परेका छन्।
काठमाडाैंबाट पक्राउ परेकाहरूमध्ये धेरैजसो आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू पाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए।
गत मङ्गलवारसम्म बाहिरी जिल्लाबाट मात्रै १७८ जना पक्राउ परेका छन्। ‘सुरुमा पक्राउ पर्ने १०० जनाको पृष्ठभूमि केलाउँदा ६० प्रतिशत मानिस विगतमा कुनै न कुनै विषयमा प्रहरीसँगको विवादमा रहेको पाइयो’, प्रवक्ता भट्टराईले भने- ‘तीमध्ये कतिपयले त पहिले कैदसजाय समेत काटिसकेको देखिन्छ।’
जेन जी आन्दोलनका क्रममा भएको हिंसामा प्रदर्शनकारीहरूसहित ७६ जनाको ज्यान गएको थियो। त्यसबाहेक उच्छृङ्खल समूहहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित विभिन्न सरकारी भवनका साथै निजी सम्पत्तिमा समेत तोडफोड, आगजनी र चोरी गरेका थिए।




