एमालेमा नेतृत्व विवाद : ओलीलाई पोखरेलले टक्कर दिने

मूलखबर संवाददाता
काठमाडौं, १७ कात्तिक

नेकपा एमालेको एघारौँ महाधिवेशनमा हुने अध्यक्षको चुनावमा केपी शर्मा ओलीलाई ईश्वर पोखरेलले टक्कर दिने भएका छन्। एमालेको महाधिवेशन मंसिर २७–२९ मा काठमाडौँमा हुने तय भएको छ।

आफ्नो प्रतिस्पर्धी कोही नहून् र निर्विकल्प अध्यक्ष बन्न सकियोस् भन्ने योजनाअनुसार ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता निलम्बनमा राखिदिएका छन्। तर, ओलीले अन्ततः पोखरेलसँग भिड्नुपर्ने भएको छ।

अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका पोखरेलका पक्षमा बहुमत सचिवालय सदस्यहरु रहेको एमाले नेताहरु बताउँछन्। यद्यपी केन्द्रीय कमिटी र अन्य कमिटीहरूमा भने महाधिवेशनपछि पनि ओलीले नै पार्टीको नेतृत्व सम्हाल्नु पर्ने पक्षमा निकै ठूलो बहुमत देखिएको छ।

‘ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ,’ एमालेका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘वरिष्ठ उपाध्यक्षले अध्यक्षमा दाबी गर्नु स्वाभाविक हो। त्यति लामो राजनीतिक विरासत छ। उहाँ उठ्ने हुँदा सचिवालयका बहुमत सदस्यको साथ पाउनुहुन्छ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टको त साथ छँदैछ।’

२०७८ मंसिरमा भएको एमालेको दसौँ महाधिवेशनमा ओली अध्यक्ष निर्वाचित हुँदा उनकै समूहबाट पोखरेल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका समाचार नेपालखबरमा सागर न्याैपानेले लेखेका छन् ।