माओवादी केन्द्र र देशभक्त समाजबादी मोर्चाबीच एकता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच एकता भएको छ । माओवादी केन्द्रका संयोजक एवं गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजबादी मोर्चाका अध्यक्ष गोपाल किराँतीबिच एकताको सहमति पत्रमा हस्ताक्षर गरी एकता भएको हाे ।
पुर्व माओवादी नेता रहेका किराँती भिन्नै पार्टी बनाएर सक्रिय भएका थिए । माओवादी अध्यक्ष प्रचण्डले वाम एकताको पहल लिएकाे भन्दै उनले एकतामा आएको बताएका छन् । उनले साम्राज्यवाद, प्रतिक्रियावादका विरूद्व लडेर समाजवाद ल्याउने यात्रा शुरू भएको बताएका छन् ।
सहमति पत्रमा गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने बताइएकाे छ ।
यस्तो छ सहमति पत्र-
हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको यथार्थ जगजाहेर छ । परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउछ जसको पहलवाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरुप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिवद्धता व्यक्त गर्दै हामीहरु निम्न सहमतिको निर्णयहरु विज्ञप्तीमार्फत सार्वजनिक गर्दछौं
१. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने ।
२. कमरेड गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने ।
३. उपरोक्त सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।
अन्त्यमा, स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग (मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग), लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनवीच समाजवादी ध्रुवीकरण बढाएर नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य-व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेड पुस्ताका युवाहरुसहित सबैसँग आह्वान गर्दछौं ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेकपा (माओवादी केन्द्र)
गोपाल किराती
अध्यक्ष
देशभक्त समाजवादी मोर्चा





