आठ बामपन्थी दल तथा समूहबीच एकता घोषणाकाे तयारी, नेतृत्वमा प्रचण्ड, नाम र चुनाव चिन्ह छलफलमा
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलगायत आठ बामपन्थी दल तथा समूह र घटकबीच एकता हुने भएकाेछ । यही कात्तिक १८ गते एकता घोषणा गर्ने तयारी उनीहरूले गरेका छन् ।
एकताकाे विषयमा एकीकृत समाजवादीले केन्द्रीय समितिकाे बैठकबाटै निर्णय गरेकाे छ भने विप्लव नेतृत्वकाे पार्टीबाट विद्राेह गरेका चीरन सी नेतृत्वकाे टीमले पनि एकताकाे निर्णय गरिसकेकाे छ । त्यसैगरी अन्य समुहहरूले पनि एकता तथा समायाेजनकाे निर्णय गर्दैछन्।
नेकपा (माओवादी केन्द्र) ले सचिवालयकाे बैठकबाट एकताकाे निर्णय गरेकाे छ जसलाइ भाेली कात्तिक १७ गते बस्ने केन्द्रीय समितिकाे बैठकले अनुमाेदन गर्नेछ ।
एकतापछि पार्टीकाे नाम नेकपा (समाजवादी) रहने सहमति भएकाे बताइएकाे छ । चुनाव चिन्हकाे बारेमा अझैसम्म ठाेस भएकाे छैन ।
एकतापछि बन्ने नेकपा समाजवादीको प्रचण्ड संयोजक नै रहनेछन् भने माधवकुमार नेपाल सहसंयोजक रहने भएका छन् । वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत कुनै पनि पद हुनेछैन । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने समझदारी छ । सबै तहमा संयोजक र सहसंयोजक फरक पार्टीबाट हुनेछन् । जनसंगठनमा इन्चार्ज र सहइन्चार्ज पनि फरक पार्टीबाट हुनेछन् । विभागका प्रमुख र उपप्रमुख पनि फरक पार्टीबाट हुनेछन् । जनसंगठन र जिल्लामा सांगठनिक एकताका लागि कार्यदल बनाएर काम गर्ने तयारी छ । प्रदेश, जिल्ला र जनसंगठनमा पनि संयोजक र सहसंयोजक फरक दलबाट हुनेछन् ।
राष्ट्रिय सभागृह वा प्रज्ञा भवनमा औपचारिक कार्यक्रममार्फत ‘नेकपा समाजवादी’ नामक नयाँ पार्टी घोषणा गर्ने र चुनाव चिह्न तारा राख्ने तयारी छ । नयाँ पार्टीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक रहने तय भएको छ ।
एकतामा प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा विप्लवबाट अलग भएका चिरण सी समूह सहभागी हुनेछन् ।
एकीकृत पार्टीको विधान, राजनीतिक दस्ताबेज र घोषणापत्र तयार गर्ने जिम्मा माओवादीबाट देव गुरुङ, वर्षमान पुन र रेखा शर्मा तथा एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल, प्रमेश हमाल र प्रकाश ज्वालालाई दिइएको छ । ज्वालाका अनुसार एकता प्रक्रियाका सबै काम अन्तिम चरणमा पुगेका छन् र घोषणा सभापछि पार्टी दर्ता गरी २१ फागुनको निर्वाचनका लागि तयारी सुरु गरिनेछ ।





