वर्षाका कारण हवाई उडान पनि प्रभावित, सडकहरू अवरुद्ध
माेन्था चक्रवातकाे असरले देशभर वर्षा भइरहेको छ । कतै हल्का त कतै भारी वर्षाले गर्दा स्थल र हवाई यातायात समेत प्रभावित भएका छन् ।
आज विहानदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । जसका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ ।
आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ ।
विमानस्थलकाे श्राेतका अनुसार आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ गरिएका छन्। भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको छ। भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान पनि भैरहवा डाइभर्ट गरिएको छ।
अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली र एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको छ।
वर्षाका कारण काठमाडौं मुग्लिङ सडक केही प्रभावित भएको छ भने बुटवल नारायणगढ सडक अलि बढि प्रभावित बनेकाे प्रहरीले जनाएको छ ।





