नर्सहरूका मागहरू तत्काल सम्बोधन गरियाेस्- माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले नर्सहरूकाे माग तत्काल सम्बाेधन गर्न सरकारलाई आग्रह गरेको छ ।
पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्डले एक प्रेस नाेट जारी गर्दै नर्सहरूले राेजगारी, तलबमान, असमान व्यवहार, सामाजिक सुरक्षालगायतका समस्याविरूद्ध आन्दोलनरत् नर्सहरूका माग जायज भएकाे भन्दै पुरा गर्न माग गर्नुभएको हाे ।
उहाँले नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने उल्लेख गर्नुभएको छ ।
नाेटकाे पुरा पाठ-
यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत् छन्।
नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन। त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ।




