नुवाकोटको विदुर नगरपालिकाले बाढीपीडितलाइ तत्काल घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
नुवाकोटको विदुर नगरपालिकाले बाढीपीडित परिवारलाइ तत्काल घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नगर कार्यपालिकाको १३४औं बैठकले विदुर नगरपालिकाभित्र बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्न प्रतिपरिवार तत्काललाई १० हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्ता परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत सामग्रीसमेत उपलब्ध गराउने निर्णयमा उल्लेख छ ।
नगरपालिकाले कोठा भाडामा लिँदा वा दिँदा प्रचलित भाडादरभन्दा बढी रकम लिएको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको उपप्रमुख प्रभा बाेगटीले जानकारी गराएकी छिन् ।

त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताहरूको सहयोगमा अस्थायी आवास निर्माण गरी बाढी प्रभावितलाई पुनःस्थापना गर्ने निर्णय पनि गरिएको छ ।
नगरपालिकाले अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालयमा पठनपाठन सञ्चालन गर्ने तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक र संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी नियमित विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राखिएको भए सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।



