कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

मूलखबर संवाददाता
कर्णाली, २२ भदौ

यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन् ।

जुम्लाबाट छुटेपश्चात् एकदुई दिनमा सुर्खेत नेपालगन्ज पुग्ने लक्ष्य राखेर हिँडेका गाडी पहिरोका कारण सडकमै अलपत्र परेपछि स्याउ कुहिने हो कि भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ ।

स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो, ढुङ्गा र लेदोले सडक अवरुद्ध भएपछि अलपत्र परेको दुःखेसो व्यक्त गर्नुभयो ।

स्वदेशमै केही कमाउने आशा राखेर गरेको व्यवसाय बाटोकै कारण घाटा व्यहोर्नुपर्ने बाध्यता आइलागेको उहाँले जनाउनुभयो । “सडक कहिले खुल्ने हो थाहा छैन”, उहाँले भन्नुभयो, “अझै तीनचार दिनपछि मात्र बाटो खुल्छ भन्छन् । त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर लागिरहेको छ ।”

वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब रु १० लाखको घाटा भएको स्याउ व्यापारी हस्तबहादुर रावतले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार भरपर्दो सडक नहुन्जेलसम्म व्यापारीका समस्या समाधान नहुने र यस वर्ष पनि घाटा व्यहोर्नुपर्ने अवस्था आइलागेको छ । क्षति हुँदा केही राहत दिने व्यवस्था राज्यका तर्फबाट हुनुपर्ने उहाँको भनाइ छ ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मनसुनजन्य विपद्का कारण व्यापारीले धेरै ठूलो समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएकामा अहिलेसम्म ५० प्रतिशत निर्यात भइसकेको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा दर्जनाँै स्याउ बोेकेका गाडी अगाडि बढ्न नसक्नु व्यापारीको मात्र होइन, सिङ्गो जुम्लाले पनि क्षति व्यहोर्नुपर्ने अवस्था आइलागेको छ ।”

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले शनिबार राति ७ः०० बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा गएको पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।