राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह जाने पक्का, यस्ताे छ तयारी
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने निश्चित भएपछि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले आन्तरिक तयारी तीव्र पारेका छन्।
सरकारले भ्रमणको औपचारिक तालिका सार्वजनिक गरिसकेकाे छैन । तर पनि उनी महासभामा सहभागी हुने निश्चित भइसकेको छ। विगतका वर्षहरूको तुलनामा यसपटक निकै सानो आकारको टोली लैजाने योजना बनाइएको छ, जसमा १० देखि ११ जना मात्र सदस्य रहनेछन्।
परराष्ट्रमन्त्री खनालसँग जाने ५ सदस्यीय टोलीको विषयमा भने मन्त्रिपरिषद्ले पहिले नै निर्णय गरिसकेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य र शिष्टाचार प्रमुख सहभागी हुनेछन्।
यस्तै, परराष्ट्रमन्त्रीको टोलीमा मन्त्रालयका सचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल रहनेछन्।
महासभामा प्रधानमन्त्री बालेनले आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। उनी सम्बोधनको एक-दुई दिनअघि पुग्ने र कार्यक्रम सकिनासाथ स्वदेश फर्किने गरी भ्रमणको तालिका मिलाइँदै छ।
यसअघि ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा १२ जना र ७९औँ महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय टोली अमेरिका गएको थियो।
८०औँ महासभाका बेला नेपालमा जेनजी आन्दोलन चर्किएका कारण तत्कालीन प्रधानमन्त्री सुशीला कार्की जान नसकेपछि स्थायी प्रतिनिधि लोकबहादुर क्षेत्रीले नै नेपाली टोलीको नेतृत्व गरेका थिए।
यसपटक पनि सुरुमा परराष्ट्रमन्त्रीकै नेतृत्वमा टोली पठाउने तयारी भए पनि गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको हिमबाढीपछि बालेन आफैँ जान तयार भएका हुन्।
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको प्राकृतिक विपद्को असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीस्तरबाटै सम्बोधन हुनु प्रभावकारी हुने सुझाव आएपछि उनले भ्रमणको अग्रसरता लिएका हुन्।



