उपचारको लागि सिंगापुर पुगे देउवा दम्पती
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीकाे कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा सिंगापुर पुगेका छन् ।
गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका देउवा दम्पती सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलबाट बाहिरिँदा दुवै जना ह्वीलचेयरमा देखिएका थिए, जसले उनीहरूको स्वास्थ्य अवस्थाबारे चासो बढाएको छ ।
देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । उनीहरू पछिल्लो समय राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनका कारण सार्वजनिक रूपमा निकै कम देखिँदै आएका थिए ।
भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो र घरमा समेत आगजनी भएको थियो । त्यसयता उनीहरू लामो समयसम्म सार्वजनिक देखिएका थिएनन् ।
गत असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पहिलोपटक सार्वजनिक रूपमा देखिएपछि देउवाले पार्टीको कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर उपचारका लागि सिंगापुर गएका हुन् ।





