एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु, कार्यबाहक नदिने अध्यक्ष ओलीको घोषणा
जेन जी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएकाे छ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा शुरू भएकाे बैठक तीनदिनसम्म चल्नेछ ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कसैलाई पनि कार्यबाहक नदिने घोषणा गरेका हुन्। यससम्बन्धि निर्णय केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने उनको भनाई छ। ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ, यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु,’ उनले भने।
ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताएका छन्। उनले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकिर गरे।‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ, चुनाव हुनेवाला छैन,’ ओलीले भने, ‘सरकारले चुनाव गराउने बाटो समातेको छैन।’
उनले यो सरकार असंवैधिानक रहेको समेत दाबी गरे। ‘संवैधानिक सरकार हो यो। अबैध सरकार हो,’ उनले भने, ‘हामी सबैलाई थाहा छ। पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन? आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रष्तुत गरेका छन् । प्रतिवेदनमा समसामयिक राजनीति,जेन जी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषयमा समेटिएका छन् । यसैगरी अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन,असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् ।
प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको,सरकारले दलहरुसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको बिषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ ।
गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने छ । यसैगरी लोकतन्को रक्षाका लागि संविधान पक्षधर शक्तिहरुलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिने गरी समय व्यवस्थपन गरिएको छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ ।





