दलहरूसँग सभामुख देवराज घिमिरेकाे परामर्श, के भयाे बैठकमा ?
सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी भएका थिए ।
पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सभामुख देवराज घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताएका छन् । जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे नेताहरुको धारणा सुनिसकेपछि सभामुख घिमिरेले भने, ‘लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ गर्छु ।’
बैठकमा सहभागीहरुमध्ये एमालेले संसद पुनर्स्थापनाको अडान लिएको थियो भने अन्यले चुनावको वातावरणमा बढी जोड दिएका थिए ।





