जेन-जी अभियन्ता दावी गर्ने डा. निकोलस भुसाल भेटिए गँजडी, पठाइयाे सुधार केन्द्र

मूलखबर संवाददाता
काठमाडौं,२३ असाेज

अाफूलाइ ‘जेन-जी’ अभियन्ता भनेर दावी गर्ने डा. कमल (निकोलस) भुसाल गँजडी पुष्टी भएका छन् । माइतीघरमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा बिहीबार पक्राउ परेका ‘जेन-जी’ अभियन्ता डा. कमल (निकोलस) भुसालकाे स्वास्थ्य परिक्षण गर्दा उनले गाँजा सेवन गरेकाे पुष्टी भएकाे प्रहरीले जनाएकाे छ ।

उनलाई सुधार केन्द्र (रिह्याब सेन्टर) पठाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, भुसालको मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पाइएको हो। प्रहरीले भुसाललाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाउने सर्तमा छाडेको हो।

पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाउँदै सुधार केन्द्र पठाएको हो।

जेन-जी आन्दोलनमाथि धोका भएको भन्दै भुसालसहितका केही युवाहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना माइतीघरमा प्रदर्शन गरेका थिए। प्रदर्शन गर्न उक्साएको आरोपमा प्रहरीले भुसालसहित त्यस क्षेत्रबाट २४ जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका अन्य व्यक्तिहरूको आपराधिक रेकर्ड हेरी आवश्यक प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।