भारतीय चुनावको परिदृष्यः ह्याट्रिक गर्ने तयारीमा रहेका विपक्षीविहीन मोदी, निरीह राहुल

मूलखबर संवाददाता
काठमाडौं

भारतीय लोकतन्त्रलाई ‘संसारकै सबैभन्दा ठूलो’ भनिन्छ । यसको कारण भारतको जनसङ्ख्या तथा मतदाता सङ्ख्या हो । ठीक यसैगरी बेलायतले संसारको सबैभन्दा पुरानो संसदीय लोकतन्त्र र अमेरिकाले सबैभन्दा पुरानो गणतान्त्रिक लोकतन्त्रको मान्यता पाएका छन् ।

सन् २०२३ अघि चीनको जनसङ्ख्या तथा मतदाता हुनसक्ने वयस्क जनसङ्ख्या भारतको भन्दा धेरै थियो । तर, चीनमा एकदलीय कम्युनिष्ट प्रणाली भएको हुँदा त्यसलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिने अवसर प्राप्त थिएन । अब भारत चीनलाई समेत उछिन्दै संसारको सबैभन्दा धेरै जनसङ्ख्या र मतदाता भएको देश बन्न पुगेको छ ।

भारतको जनसङ्ख्या सन् २०२३ यता करिब १ अर्ब ४० करोड पुगेको छ । आसन्न आम निर्वाचनका लागि करिब ९७ करोड मतदाता छन् ।

भारतीय निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको मिति घोषणादेखि मतगणना प्रारम्भसम्म यसको प्रक्रिया ८२ दिन लामो हुनेछ । यो भारतीय निर्वाचनको इतिहासमै सर्वाधिक लामो अवधि हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले १० वर्ष पूरा गर्दैगर्दा नयाँ निर्वाचन हुन लागेको हो । अहिलेको संसद्को कार्यकाल मेमा पूरा हुनेछ । योसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले दुई कार्यकाल पूरा गर्नेछन् ।

मोदी १० वर्षभन्दा बढी कार्यकाल पूरा गर्ने जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंहपछि चौथो तथा भाजपाका पहिलो प्रधानमन्त्री हुन् । भाजपाका प्रथम प्रधानमन्त्री अटलबिहारी बाजयेपीको कार्यकाल करिब साढे ६ वर्षको थियो ।

७३ वर्षीय मोदी आफ्नो पार्टी र गठबन्धनबाट तेस्रोपटकका लागि भावी प्रधानमन्त्री घोषित छन् । तर, विपक्षी गठबन्धनले भने भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन । विपक्षी गठबन्धनले जितेमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे वा वरिष्ठ नेता राहुल गान्धीमध्ये एक प्रधानमन्त्री हुनसक्ने अनुमान छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ह्याट्रिक’ गर्ने दाबी गरिहँदा विपक्षी गठबन्धनका मूल प्रचारक नेता राहुल गान्धी मोदीको तुलनामा सर्वेक्षणहरूमा कमजोर र कम लोकप्रिय देखिन्छन् ।

५४३ सिटका लागि हुने लोकसभा निर्वाचनको मतदानमा पहिलो चरण अप्रिल १९ मा १०२ निर्वाचन क्षेत्र, दोस्रो चरण अप्रिल २६ मा ८९, तेस्रो चरण मे ७ मा ९४, चौथो चरण मे १३ मा ९६, पाँचौँ चरण २० मेमा ४९, छैठौँ चरण मे २५ मा ५७, र अन्तिम सातौँ चरणमा जुन १ मा ५७ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

करिब १० लाख ५ हजार मतदान केन्द्र हुनेछन् भने करिब ५५ लाख भोटिङ मेसिन प्रयोग हुनेछन् ।

विपक्षी दल र नेताहरूले विद्युतीय भोटिङ मेसिन (ईभिएम) को विश्वसनीयतामा शङ्का गर्ने गरेका छन् । विद्युतीय मतदानमा कम्प्युटर ह्याकिङ वा अवैध भोट ट्रान्सफर हुनसक्ने भन्दै विरोध हुने गरेको छ । तर, भारतीय निर्वाचन आयोगले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

ईभिएमको प्रयोग सत्तारुढ दल भाजपाका लागि फाइदाजनक भएको तर्क गरिए भने त्यसको पुष्टि हुने आधार भने देखिन्न । ईभिएमको प्रयोगपछिका विभिन्न चुनावमा अन्य दलले पनि जित्दै आएका छन् ।

प्रतिपक्षीविहीन मोदी

निर्वाचन प्रतिस्पर्धा मुख्य दुई गठबन्धनबीच हुने निश्चितप्राय छ । सत्तारुढ एनडीए गठबन्धनको नेतृत्व भाजपाले गर्नेछ भने विपक्षी इन्डिया गठबन्धनको नेतृत्व भारतीय राष्ट्रिय कांग्रेसले गर्नेछ ।

भाजपा अध्यक्ष जेपी नड्डा र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे भए पनि दुई गठबन्धनका मूल नेता प्रधानमन्त्री नरेन्द्र मोदी र राहुल गान्धी हुनेछन् ।

करिब साढे दुई महिनापहिले भारतको सबैभन्दा ठूलो विपक्षी दल कंग्रेसको राम्रै फूर्तीफार्ती देखिन्थ्यो।

भारतको सबैभन्दा पुरानो राजनीतिक आन्दोलन र महात्मा गान्धीको पार्टी कंग्रेसका नेता राहुल गान्धीको राष्ट्रव्यापी अभियानमा ठूल्ठूलो भिड जम्मा हुन्थ्यो। एकपछि अर्को हारको शृंखलापछि सान्दर्भिकता कायम राख्न संघर्षरत यस पार्टीप्रति आशा पनि जगाएको थियो।

मे महिनामा दक्षिणी राज्य कर्नाटकको विधानसभा चुनाव पनि जित्यो कंग्रेसले। जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सत्ताबाट हटाउन सफल भयो। र, नोभेम्बरमा मध्यप्रदेश, राजस्थान, तेलंगना, छत्तिसगढ र मिजोरम गरी ५ राज्यमा भएको चुनावमा कंग्रेसले चार राज्यमा जित्ने प्रक्षेपण गरिएको थियो।

भाजपाका अतिरिक्त शिव सेना (सिन्धे समूह), जेडियु, एनपीपी, जनता दल (सेक्युलर) आरएलडी, एनसीपी, राष्ट्रिय लोक जनशक्ति पार्टी आदि एनडीए गठबन्धनका सहयोगी दल हुन् ।

इन्डिया गठबन्धनमा कम्तिमा २६ वटा विपक्षी दल समाष्टि हुने अपेक्षा छ । यस गठबन्धनमा कांग्रेसका अतिरिक्त भारतीय कम्युनिष्ट समूहहरू, समाजवादी पार्टी, आम आद्‌मी पार्टी, राजद, तृणमूल कांग्रेस, शिव सेना (ठाकरे समूह) लगायतका दल समावेश छन् ।

कतिपय क्षेत्रीय दलले दुवै गठबन्धनमा नरहेर चुनाव लड्न सक्नेछन् । सबै दलले गठबन्धनबारे प्रष्ट निर्णय लिइ नसकेको हुँदा मनोनयनका दिनसम्म केही फेरबदल हुन सक्ने छ ।
आउँदो चुनाव भारतीय लोकतन्त्रको जीवन–मरणको लडाइँ भएको कंग्रेसको तर्क छ। उसले भाजपालाई निरंकुश पार्टीका रुपमा चित्रित गर्दै आएको छ। तर, यो संकथनबाट उसले जनमत जित्न नसकेको विश्लेषकहरूको ठहर छ।

‘कंग्रेससँग सकारात्मक एजेन्डा छैन,’ कुमार भन्छन्, ‘भाजपा लोकतन्त्रका लागि खतरा हो भन्ने मुद्दामा पनि नागरिक विश्वस्त छैनन्।’

पार्टीभित्र बेचैनी बढ्न थालेको छ। पार्टीका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्वमुख्यमन्त्री अशोक चव्हाण कंग्रेस छाडेर भाजपा प्रवेश गरेका छन्। तुरुन्तै उनलाई माथिल्लो सदन राज्य सभामा मनोनयन गरिएको छ।

शुक्रबार समयमा कर नतिरेको भन्दै पार्टीका बैंक खाता बन्द गरिएको कंग्रेसले आरोप लगाएको छ।

पार्टीको घोषणापत्र मसौदा तयार गर्ने टोलीका सदस्य चिदम्बरम मानिसहरू महँगी र बेरोजगारीबाट चिन्तित रहेको बताउँछन्। मोदीको पछिल्लो कार्यकालमा मुद्रास्फिति ४ प्रतिशत र बेरोजगारी ८ प्रतिशत छ।