किन हुन्छ हाइ ब्लड प्रेसरको समस्या, कसरी जोगिने (टिप्ससहित)

मूलखबर संवाददाता
काठमाडौं

उच्च रक्तचापबाट पिडित भएका मानिसहरूको संख्या दिनानुदिन बढीरहेको छ । यसले गर्दा हृदयघात तथा अन्य समस्याबाट मानिस धेरै पिडित बनिरहेको छ । सामान्य कुराहरु विचार गर्न नसक्दा हृदयघात तथा अन्य मुटु रोगको कारण उच्च रक्तचापले दु:ख दिने गरेको छ ।

मानिसको उमेर, रहनसहन, खानपिनलाई विचार गर्ने हो भने मानिस उच्च रक्तचापबाट जोगिन सक्छ । मानिसले सामान्य रूपमा खानपान तथा नियमित व्यवहारलाई विचार गर्न सके रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापका कारणहरु बारे पनि सामान्य मात्र जानकारी राख्न सके यसबाट बच्न सकिन्छ ।

उच्च रक्तचापका कारणहरू के-के हुन् त…
– उमेर: मानिसको उमेरसँगै रक्तचापको सम्भावना पनि बढ्दै जान्छ । जब मानिस बृद्ध अवस्थामा पुग्छ उच्च रक्तचापको जोखीम झन् बढ्न जान्छ । बृद्ध अवस्थामा पुगेका मानिसको धमनीहरूको कडा हुँदै जाँदा उच्च रक्तचापको मात्रालाई बढाउने गर्छ ।

 – वंशानुगत गुण: मानिसको वंशाणुगत गुणले कारण पनि उच्च रक्तचापको सम्भावना रहन्छ । परिवारमा पहिले देखी नै कोही उच्च रक्तचापको रोगी छ भने नयाँ पुस्तामा पनि सर्ने सम्भावना उत्तिकै हुन्छ ।

– लिङ्ग: पुरूषलाई बढी उच्च रक्तचापको खतरा हुन्छ ।

– मोटोपन: मानिसको मोटोपनले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । मोटो मानिसको शरिरमा रहने बोसोको मात्राले शरिरका धमनीलाई कसिलो बनाउँछ जसले गर्दा शरिरमा रगतको प्रवाह आफ्नै गतिले हुन पाउँदैन र यसले रक्तचापको सम्भावना निम्त्याउँछ ।

– नुनको बढी प्रयोग: शरिरमा आवश्यक पर्ने नुनको मात्रा भन्दा बढी नुन प्रयोग गर्नाले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । नुनमा रहेको सोडियमले रक्तचापलाई बढाउन मद्दत गर्छ । सकेसम्म ठिक्क मात्रामा नुनको प्रयोग गर्नु स्वास्थ्यका लागी फाइदा जनक हुन्छ ।

– रक्सीको प्रयोग: बढी रक्सी पिउने मानिसलाई पनि रक्तचापले चाडै थला पार्न सक्छ ।

– तनावपूर्ण जीवन: उच्च रक्तचाप बढाउने अर्को कारण हो तनाव । जति धेरै तनाव त्यतिनै उच्च रक्तचापको समस्या हुने गर्छ ।

समस्याको प्रारम्भिक पहिचान कसरी गर्ने?
३० वर्ष वा सोभन्दा माथिको उमेरको मानिसले कम्तिमा पनि ६ महिनामा एकपटक आफ्नो रक्तचाप अनिवार्य जाँचेर भविष्यमा हुने ठूलो दुर्घटनाबाट बच्न सकिन्छ। उच्च रक्तचाप भएको मानिसले १५-१५ दिनमा आफ्नो रक्तचाप जाँच्ने गर्नुपर्छ र धेरैमा ६ महिनामा चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ।

प्रत्येक ६ महिनामा रगतमा कोलेस्ट्रोल , सुगर, किर्याटिनको जाँच, इ.सि.जि. इ. को अनिवार्य रूपमा गर्नुपर्दछ।

उच्च रक्तचापको रोकथाम तथा नियन्त्रण:

१. धुम्रपान, मदिरा, र सुर्तीजन्य पदार्थहरूबाट टाढै रहने।

२. नुन कम खाने:

नुन शरीरको लागि अतिआवश्यक तत्व हो तर यो शरीरलाई थोरै मात्रामा भए पुग्छ। एउटा स्वस्थ मानिसले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन। अझ उच्च रक्तचाप भएको मानिसले २.५ ग्राम भन्दा धेरै खानु हुँदैन। नुन कम खानेभन्दा सरल सुनिए पनि यस्को लागि हामी चनाखो हुन जरूरी छ। अत्यधिक मात्रामा नुन हुने खानेकुरा जस्तै पापड, ससेज, सिसीको अचार, भुजिया, नुनिलो बिस्कुट जस्तो खाने कुरा सकेसम्म कम खानु पर्छ।

३. चिल्लो कम खाने:

तेलमा डुबाएको खानेकुराहरू जस्तै रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज,पकौडा, तेलमा भुटेको आलु, तारेको मासु, रोस्ट, सेलरोटी सकेसम्म कम खानुपर्छ किनकी यस्ता खानेकुराले शरीरको रक्तनलीलाई साघुरो बनाउँछ। रक्तनलीमा रगतको चाप बढ्छ र उच्च रक्तचापलाई निम्त्याउँछ।

माछाको सेवन भने फाइदाजनक मानिन्छ। हप्तामा २ चोटि माछा खाँदा राम्रो हुन्छ तर फ्राइ गरेर खानु उचित मानिँदैन।

४. वजन घटाउने:

उच्च रक्तचाप नियन्त्रणको लागि स्वस्थ वजनको आवश्यक हुन्छ। एउटा व्यक्तिको लागि स्वस्थ वजन कति हुन्छ भन्ने बारे विभिन्न अवधारणाहरू छन्। एउटा हो ब्रोसा इन्डेक्स (Broca Index), यस अनुसार आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस्। त्यसमा १०० घटाउनुहोस्। जुन प्रतिफल आउँछ, त्यो नै तपाईंको लागि उपयुक्त वजन हो। यसको १० प्रतिशत तलमाथि भए पनि सामान्य मानिन्छ। कम्मरको गोलाइबाट पनि वजन सही छ कि छैन पत्ता लगाउन सकिन्छ। सामान्य पुरूषको कम्मरको गोलाइ ४० इन्चभन्दा कम हुनुपर्छ भने महिलाको कम्मरको गोलाइ ३५ इन्च भन्दा कम हुनुपर्छ।

५. नियमित औषधि खाने:

बिरामीले चिकित्सकले सिफारिस गरेको बमोजिम नियमित औषधि खानैपर्छ किनभने नियमित औषधि नखाए पछि पक्षघात, हृदयघात, मिर्गौला फेल, अङ्गभङ्ग हुने, आदि शरीर नचल्नेदेखि लिएर अकस्मात मृत्यु समेत हुन सक्छ।

६. नियमित व्यायाम गर्ने:

हरेक मानिसले प्रत्येक दिन ३० मिनेट पसिना आउने गरी कुनै न कुनै व्यायाम गर्नुपर्छ जस्तै पौडी खेल्ने, खेतबारीमा काम गर्ने, छिटो छिटो हिँड्ने, दगुर्ने, व्यायाम गर्ने आदि।

७. प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खाने:

पोटासिएम धेरै भएको खानेकुराहरू जस्तै केरा, ब्रोकाउली, बन्दा, सुन्तला, मेवा, बेल, कागती आदि धेरै सेवन गर्नु लाभदायक हुन्छ। प्रशस्त मात्रामा हरियो सागसब्जी, गाजर, धनियाँ, काक्रो, रेसायुक्त खानेकुराहरू, प्रशस्त मात्रामा पानी खानुपर्छl पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ।

त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरू हुनुपर्छ। ताजा फलफूल नियमित खानुपर्छः ताजा फलफूलमा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ। प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ।

८. नियमित रक्तचाप जाँच गर्ने र रेकर्ड रख्ने:

रक्तचापको औषधिको सेवन गर्ने र नगर्ने दुवै बिरामीले कम्तिमा पनि ६ महिनामा चिकित्सकसँग अनिवार्य रूपमा परामर्श लिनुपर्छ। आफ्नो आवश्यकता अनुसार चिकित्सकले भने बमोजिम फलो अपमा जानुपर्छ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।