चिनियाँ उपमन्त्री सुनको सन्देश- नेपाललाई चीनको उच्च महत्त्व, चीनविरुद्ध प्रयोग हुनबाट बच्नुस्
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेपाल आएको आज चौथो दिन हो। शुक्रबार नेपाल आएकी उनी त्यसपछि निरन्तर सक्रिय भइन्।
काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै तर अन्य केही मुलुकले यस्तो देख्न नचाहेको उनको तर्क छ। उनले नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताइन् ।
के सुनको सन्देश
आइतबार सोल्टी होटलमा दलका नेताहरूलाई सँगै राखेर सुनले केही सन्देश दिएकी छिन्। यसको मुख्य पाटो छ- चीनले नेपाललाई उच्च महत्त्व दिएको छ, विकासमा पनि सघाउन तयार छ र तपाईंहरू चीनविरूद्ध प्रयोग नभैदिनुस्।
‘मैले यसपटक सीपीसीको नेतृत्व गर्दै धेरै भेटघाट गरें । हाम्रो राजदूतले पनि धेरै मेहनत साथ काम गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘नयाँ युगमा चीन नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ ।’
उनले भनिन्, “नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यक्ता छ।”
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलसँग साझा फाइदा र सहकार्यको सन्दर्भ केन्द्रित छलफलमा निम्त्याइएका प्रमुख दलका नेताहरूलाई सामूहिक रूपमा सुनले दलीय सहकार्यको मोडालिटी पनि बताइन् । साेल्टीमा सुनको अभिव्यक्ति नेपाली दलहरूको भूमिका विकासे परियोजना, सांस्कृतिक सम्बन्ध र शक्ति राष्ट्रको सक्रियता नियन्त्रणमा सहकार्य हुनुपर्ने आशयसहितको थियो ।
चिनियाँ पर्यटकहरूको संख्यामा बढोत्तरी भए पनि नेपालले पूर्वाधार विकास गर्न नसकेको उनको भनाइ थियो । त्यसमा उनले भनिन्, ‘नेपालमा धेरै पर्यटकहरू आउँछन् तर पूवार्धारमा विकास भएको छैन, एउटै पूर्वाधारमा भर पर्न हुन्न ।’ हुन पनि नेपालले पर्यटकहरूका लागि नयाँ गन्तव्य विकास गर्न सकेको छ, न पूर्वाधार ।
पर्यटन वर्ष र पर्यटन दशकको घोषणा गर्ने तर खास प्रगति नगर्ने नेपालको नीतिबारे चिनियाँ प्रस्टै जानकार रहेको संकेत यही प्रकरणले दिएको थियो । यति कुरा गरेर सुनले नेपालमा लगानीमैत्री वातावरण नभएको सन्देश दिइन् । चीनमा रहेका लगानीकर्ता हुन् वा नेपालमा रहेका चिनियाँ लगानीकर्ता, दुवैबाट सहज जवाफ नपाएको संकेत सुनको थियो ।
सुनले नेपालमा परियोजनाहरू ढिला हुने गरेको सन्दर्भको जवाफ दिने प्रयास गरेकी थिइन् । उनको कूटनीतिक जवाफमाथि थप प्रस्ट पारेर राजदूत छनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न भनिदिए । हायानले चिनियाँ ठेकेदारले जिम्मा लिएका परियोजना ढिला हुने गरेको भन्ने क्रममा कोभिड–१९ मात्र कारण नभएर विभिन्न कारण रहेको बताएकी थिइन् । परियोजना छिटो र सहज रूपमा सकिने उदाहरण इन्डोनेसियाको परियोजनालाई देखाएकी थिइन् ।
सरकार र दलहरूले परियोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्नुपर्ने उल्लेख गरेकी थिइन् । सायद, त्यतिभन्दा नेपाली नेताहरूले बुझ्दैनन् भनेर हुन सक्छ, राजदूत छनले भने, ‘नेपालमा चिनियाँ परियोजनाहरू ढिला हुने गरेको गुनासो हुन्छ । के हाम्रा कारणले मात्रै ढिला भएको हो त ? त्यसमा तपाईंहरूले समीक्षा गर्नुपर्ला ।
नेपाल अरुबाट प्रयोग हुनबाट बच्नुपर्ने संकेत गर्दै सुनले भनिन्, ‘अहिले विश्वमा शान्ति छैन, केही शक्तिहरू चीन र नेपालको राम्रो देख्न चाहिरहेका छैनन्, उनीहरूले दुर्भाव राखिरहेका छन् । हामीले एकता, विश्वास र पारस्परिक सम्बन्ध कायम राख्न सक्नुपर्छ र कठिनाइमा एकअर्काबीच मिलेर काम गर्नुपर्छ ।’ नेपालमा बढ्दो पश्चिमाहरूको सक्रियताप्रति सुनको खास चासो रहेको प्रस्ट मात्र थिएन, चिन्ताको अभिव्यक्ति पनि थियो ।
उनले नेतालाई सुनाइन, ‘शक्ति केन्द्रहरूबाट गुट बनाउने र क्षेत्रीय द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेका छन्, त्यसबाट सजग हुन आवश्यक छ ।’ सुनका यी अभिव्यक्तिले एकातिर पश्चिमको सक्रियताप्रति चीन चनाखो रहेको संकेत गरेको थियो, त्यसबाहेक नेपाली नेताहरूलाई दबाब नदिई नहुने रहेछ भन्ने मनोवैज्ञानिक स्थितिमा चिनियाँ पुगेको अर्थ लाग्ने पनि संकेत गर्छ ।
नेपालले भन्यो- चीनको सहयोग महत्त्वपूर्ण
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्त्वपूर्ण हुने बताएकी छन्। नेपाल–चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएको १३ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको चर्चा गर्दै उपाध्यक्ष अर्यालले सहमति कार्यान्वयनका लागि दुवै देशले आवश्यक प्रक्रिया तदारूकताका अघि बढाउनु पर्नेमा जोड दिइन्।
दुई देशका पार्टीहरूबीच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्चहरू बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड दिँदै उपाध्यक्ष अर्यालले त्यसका लागि नियमित उच्चस्तरीय भ्रमण, छलफलले सफलता मिल्ने बताइन्।
सन् २०२६ सम्म नेपाललाई विकासशील देशको रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको चर्चा गर्दै उपाध्यक्ष अर्यालले त्यसका लागि छिमेकी देश चीनको सहयोग जरूरी रहेको बताइन्।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चिनियाँ राजदुत छन सोङले बोलेका थिए।
कार्यक्रममा नेपालका राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेसका नेता शशांक कोइराला, नेकपा (एमाले) का महासचिव शंकर पोख्रेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङ, रास्वपाका शिशिर खनाल लगायतको सहभागिता रहेको थियो।