राष्ट्रियसभामा अब माओवादी रोल नम्बर एक, कोसीमा भने पटक पटक धोका

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय सभाका १९ सीटका लागि बिहीवार भएको निर्वाचनमा कोशी प्रदेशको एकबाहेक सबै सीटमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोगले बिहीवार साँझ सार्वजनिक गरेको परिणामअनुसार गठबन्धनका १८ जना र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० जना सदस्यको पद रिक्त हुँदै छ।

त्यसमध्ये बिहीवार १९ जना चयनका लागि निर्वाचन भएको हो भने एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन्।

निर्वाचन आयोगका अनुसार सात प्रदेशमा निम्न उम्मेदवार विजयी भएका छन्:

कोशी प्रदेश: नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकी रुक्मिणी कोइराला
मधेश प्रदेश: कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी
बागमती प्रदेश: कांग्रेसकी विष्णुदेवी पुडासैनी र जीतजङ्ग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीका घनश्याम रिजाल
गण्डकी प्रदेश: कांग्रेसका किरणबाबु श्रेष्ठ र पदम परियार एवं माओवादीकी मनरुपा शर्मा
लुम्बिनी: कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी
कर्णाली प्रदेश: नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विक र कांग्रेसका कृष्णबहादुर रोकाया
सुदूरपश्चिम प्रदेश: कांग्रेसका नरदेव भट्ट र बलदेव बोहरा एवं माओवादीकी रेनु चन्द


नयाँ निर्वाचितको संख्याअनुसार आगामी २० फागुनदेखि माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्ने पक्का भएको छ। अहिलेसम्म राष्ट्रिय सभामा माओवादी केन्द्रका १६ सदस्य छन्। तर, २० फागुनमा विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरासहित तीनजनाको पदावधि सकिँदैछ।

त्यसो हुँदा अहिलेको राष्ट्रिय सभामा सो पार्टीका सांसदहरुको संख्या १३ मात्र हुनेछ।

तर, बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रले ५ सिटमा विजय हासिल गरेको छ। सत्ता गठबन्धनबाट उम्मेदवारी पाएको कोसीको महिलातर्फको सिट गुमाए पनि बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदुर पश्चिम प्रदेशमा रेणु चन्द विजयी भएका छन्।

यस हिसाबले २० फागुनपछि राष्ट्रिय सभामा माओवादी केन्द्रको सिटसंख्या १८ पुग्नेछ।

अहिलेसम्म राष्ट्रिय सभामा एमालेको सिट संख्या १७ छ। २० फागुनपछि भने एमालेका ८ सांसदको पदावधि समाप्त हुनेछ। तर, बिहीबार भएको निर्वाचनमा एमालेका एक उम्मेदवारले विजय हासिल गरेका छन्।

त्यसैले, २० फागुनपछि राष्ट्रिय सभामा उसको स्थान १० मात्र हुनेछ।

नेपाली कांग्रेस अहिलेसम्म राष्ट्रिय सभामा १० सिट सहित तेस्रो स्थानमा छ। तर, २० फागुनपछि उसका ४ सांसदको पदावधि समाप्त हुनेछ। त्यसो हुँदा कांग्रेस ६ सिटमा झर्नेछ।

बिहीबारको निर्वाचनमा कांग्रेसका १० उम्मेदवारले विजय हासिल गरेका छन्। यो संख्या जोडिँदा राष्ट्रिय सभामा उसको सिट संख्या १६ मात्र हुनेछ। अर्थात् माओवादी केन्द्रपछि राष्ट्रिय सभामा दोस्रो ठूलो दलको हैसियतमा नेपाली कांग्रेस रहनेछ।

१० सिटसहित एमाले राष्ट्रिय सभामा तेस्रो ठूलो दलको हैसियतमा रहनेछ। त्यसपछि चौथो स्थानमा रहनेछ– एकीकृत समाजवादी, जसको राष्ट्रिय सभामा ८ सिट रहनेछ।

कोसीमा सधैं धोका
कोसी प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलामात्र राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनकी अर्की उमेदवार नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की पराजित भइन् ।

कोसीमा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा दोस्रोपटक पराजय भोगेको हो । अघिल्लोपटक पनि ‘छिर्केदाउ’ लगाउँदै एमालेका उमेदवार विजयी भएका थिए । बिहीबार रुक्मिणी कोइराला विजयी भइन् । माओवादीकी कार्कीका लागि विगतकैजस्तो पराजयको कथा दोहोरियो ।

अघिल्लोपटक गठबन्धनसँग बहुमत हुँदाहुँदै जनता समाजवादी पार्टी (जसपा)का उमेदवार पराजित भएका थिए ।

कोसीमा एमाले दोस्रोपटक ‘छिर्केदाउ’ लगाएर गठबन्धनका उमेदवारलाई पराजित गर्न सफल भएको छ । यसपटक उसको तालमेल राप्रपासँग थियो । तर, पनि गठबन्धनसँग स्पष्ट बहुमत थियो ।

कांग्रेस उमेदवार मात्र विजयी भएपछि माओवादीले कांग्रेसबाट सधैँ धोका हुने गरेको आरोप लगाएको छ ।

राष्ट्रियसभा निर्वाचमा सत्तारूढ गठबन्धनका तीन सांसद र स्थानीय तहका १३ प्रतिनिधिले माओवादीकी कार्कीलाई मत हालेनन् । त्यो मत एमालेकी कोइरालालाई गयो । उनको मतभार पाँचहजार ८६ हुँदा कार्कीले चारहजार ९९२ मात्र प्राप्त गरिन् ।

जबकि, सत्ता गठबन्धनसँग एमाले–राप्रपा गठबन्धनको भन्दा झन्डै ८०० बढी मतभार थियो ।

माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले नेपाली कांग्रेसबाट आफूहरूले पटकपटक धोका खाएकाले अब सहकार्य भंग हुने चेतावनी नै दिए ।

“हामीले गठबन्धनमै बसेर बारम्बार कांग्रेसलाई सहयोग गर्‍यौँ । तर, त्यसको बदला हरेकपटक धोका भयो,” उनले भने ।

यस्तै अवस्थामा अब कांग्रेससँग प्रदेशमा सहकार्य गर्ने कि नगर्ने भन्ने निर्णय लिइने भनाइ उनको छ ।