राष्ट्रियसभामा १९ जना नयाँ अनुहार, सिटौला मन्त्री कि राष्ट्रियसभा अध्यक्ष ?
राष्ट्रिय सभाका लागि रिक्त हुन लागेका १९ सदस्यमा नयाँ अनुहार निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार १९ सिटका लागि ५२ जना उम्मेदवार थिए। सत्ता गठबन्धनले सबै प्रदेश र एमाले-राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए।
मत परिणामअनुसार कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन्। मधेशबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।
बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका छन्।
गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्। लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन्।
कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन्।
सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्द निर्वाचित भएका छन्।
सिटौलाको अबको राजनीति
कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि अन्ततः सांसद भएका छन्। २०७० पछि भएका लगातार दुई वटा प्रतिनिधि सभा निर्वाचनमा पराजित हुन पुगेका उनी बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भने विजयी बन्न पुगे।
प्रतिनिधि सभाका दुवै निर्वाचनमा राप्रपा नेपाल/राप्रपाका उम्मेदवारसँग पराजित भएका उनी राष्ट्रिय सभा निर्वाचनमा भने राप्रपाकै उम्मेदवार उद्धव पौडेललाई पराजित गर्न सफल भए। ती दुवै निर्वाचनमा एमाले-राप्रपाको गठबन्धनको अवरोध छिचोल्न नसकेका उनले यसपटक भने नयाँ मञ्चमा बदला लिए।
२०७० को संविधान सभाले व्यवस्थापिका संसद् हुँदै २०७४ सालसम्म काम गरेको थियो। सो सभाका सदस्य रहेका उनी त्यसपछिका ६ वर्ष भने सिटौला संसदीय भूमिकामा थिएनन्। २०६३ सालतिर गृहमन्त्री भएका उनी २०६९ मा केही दिन रक्षा र कानुन, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्री बनेका थिए। त्यसैले उनी सत्ताबाहिर रहेको पनि वर्षौं बितिसकेको छ। बिहीबारको जितसँगै राष्ट्रिय सभा सदस्य मात्रै बनेर संसदीय अनुभव लिइराख्ने ढोका त खुलेकै छ। विस्तृतमा केलाउने हो भनेचाहिँ, उनका निम्ति दुई बृहत् सम्भावना खुलेको छ।
पहिलो, राष्ट्रिय सभा अध्यक्ष। सिटौला राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार भएदेखि नै कांग्रेस वृत्तबाटै उनलाई भावी राष्ट्रिय सभा अध्यक्षको रुपमा प्रचार गरिएको थियो। त्यसरी प्रचार गर्नेमा सिटौलासँग निकट नठानिने समूहसमेत थियो। त्यसैले उनलाई राष्ट्रिय सभा अध्यक्षकै रुपमा हेरिएको छ। अहिलेका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि फागुन २० पछि सकिने भएकाले नयाँ अध्यक्ष निर्वाचित हुने नै छन्। त्यतिबेला सिटौला जस्ता व्यक्तित्वले रहर गर्दा अन्य दलहरूले पनि सहज रुपमै लिन सक्छन्।
दोस्रो, मन्त्री। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेस समेत सहभागी छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसकै नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता दलहरू सम्मिलित गठबन्धन छ। गठबन्धन पाँचै वर्ष जाने सार्वजनिक प्रतिबद्धता ती दलका नेताहरूबाट आइरहेको छ। त्यसैले सिटौलाले मन्त्री बन्न रहर गर्दा पनि उनलाई रोक्ने प्रयत्न हुने देखिँदैन।
कांग्रेस र माओवादी केन्द्रको सत्ता दाउपेचका रणनीतिहरु केलाउँदा भने सिटौला मन्त्री बन्ने सम्भावना पनि कम बलियो छैन। त्यसका केही आधारहरू छन्।
देउवा प्रचण्डलाई कुनै हालतमा चिढ्याउन नहुने मनस्थितिमा छन्। प्रचण्डलाई चिढ्याउँदाको असर उनले २०७९ पुस १० मै भोगिसकेका छन्। त्यसैले प्रचण्डको मनस्थिति बुझेर उनले सिटौलालाई व्यवस्थापन गर्ने प्रयत्न गर्लान् भनेर सोच्नु अत्युक्ति हुनेछैन।