रवि लामिछानेको कमजोर बचाउ, सरकारी संरचनालाई झुक्काएको स्वीकार

मूलखबर संवाददाता
काठमाडौं

कान्तिपुर दैनिकले सोमबार सार्वजनिक गरेको विवरणमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रबारका दिन हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रहेका रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको र बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको सार्वजनिक गरेको थियो।

गोर्खा मिडिया प्रालीको १५ प्रतिशत सेयर खरिद-विक्री प्रकरणमा सोमबार रवि लामिछानेले गोर्खा मिडियाको खातामा सुप्रिम सहकारीबाट एक करोड रकम जम्मा भएकोबारे प्रस्टीकरण दिए। तर ७५ लाखबारे बोलेनन्।

 कान्तिपुर पत्रिका र ग्लोबल आईएमई बैंकले दिएको पत्र बोकेर पत्रकार सम्मेलनमा आएका उनले दायाँबायाँ चारजना राखेका थिए । उनीहरू थिए– अर्थविद्समेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्ले, सांसद सुमना श्रेष्ठ, पूर्वबैंकरसमेत रहेका पार्टी प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्त । वरिपरि रास्वपाका अन्य नेताहरू पनि थिए ।

सञ्चारमाध्यममा लामिछानेको खातामा एक करोड ८० लाख जम्मा भएको दाबीसहितको समाचार आएपछि स्पष्टीकरण दिन पत्रकार सम्मेलनको आयोजना गरेका थिए । स्पष्टीकरणको सार थियो– रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएकै छैन ।

उसो त लामिछानेले पटकपटक आफू प्रश्नसँग नभाग्ने र आफू मिडियाविरोधी नभएको पनि बताइरहे । विगतमा आफूले केही व्यक्तिहरूमाथि ‘पर्सनल याट्याक’ गरेको भन्दै माफी पनि मागे ।

लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको दाबी पटकपटक गरे । कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको उनले बताए ।

“मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो । तर, त्यो चेक मेरो खातामा जम्मा भएन फिर्ता गयो,” उनले भने, “केही कारणले पैसा जम्मा भएन होला । तर, डिपोजिट गरेको स्लिप बैंकले दिएको हुन सक्छ ।”

त्यस्तै, रास्वपाका प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहले पनि बैंकले स्पष्ट पारेर पत्र दिएको बताए । बैंकिङ क्षेत्रमा चेक डिपोजिट गर्दा र पैसा जम्मा गर्दा फरक पर्ने भनाइ उनको थियो । पैसा खातामा नभए पनि चेक रिसिप गर्न भौचर गरिने र त्यसमा जम्मा गर्ने बैंकको सम्पूर्ण विवरण आउने उनले बताए ।

लामिछानेले ग्लोबल आईएमई बैंकबाट आफ्नो खातामा एक करोड रुपैयाँ जम्मा नभएको बेहोरासहितको पत्र साथमै बोकेर ल्याएका थिए । उनी पत्रकार सम्मेलनमा बोलिरहँदा पत्र सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । पत्र बैंकको जवाफ भन्दा पनि कैफियतका कारण भाइरल बनेको थियो ।

पत्रमा लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको थियो । तर, सोमबार २०२४/१/२२ तारिख थियो ।

आलोचना हुन थालेपछि रास्वपाका नेताहरूले तुरुन्तै बैंकलाई खबर गरे । बैंकले मिति सच्याएको भनेर अर्को पत्र काट्यो ।

७५ लाखबारे मौन
पत्रकार सम्मेलनमा उनले सुप्रिमबाट आफूसहितको नाममा गोर्खा मिडियामा जम्मा भएको एक करोडबारे जानकारी नभएको र शेयर विक्री बापत आफ्नो ग्लोबल आइएमइ बैंकमा जम्मा भएको एक करोड ८० लाख रुपैयाँको चेक डिपोजिट भए पनि पर्याप्त ब्यालेन्स नहुँदा सो चेक बाउन्स भएको विवरण सार्वजनिक गरेका थिए।

कान्तिपुरको समाचारमा तेस्रो ७५ लाखको कारोबार समेत उल्लेख छ। सो कारोबारमा लामिछानेले ७५ लाख गोर्खा मिडियामा जम्मा गरेको उल्लेख छ। पत्रकार सम्मेलनभरि उनी जीवी राईले उनको ग्लोबल आइएमइ बैंकमा जम्मा गरेको एक करोड ८० लाखमा केन्द्रित भए तर ७५ लाखमा प्रवेशै गरेनन्।

रविलेआफ्नो खातामा पैसा जम्मा नभएको भन्ने ग्लोबल आइएमई बैंकको पत्र सार्वजनिक गरे र सोही पत्रले नै ग्यालेक्सी टिभीको सेयर बेच्दा कम्पनी रजिष्ट्रारलाई झुक्याएको पुष्टि हुन्छ।