प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान, विश्व कूटनीतिमा सन्देश- हामी ब्लकमा छैनौँ

मूलखबर संवाददाता
काठमाडौं, ४ माघ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति युगान्डा गणतन्त्र प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हाे ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदै छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेकाे मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनुहुनेछ  ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।

विश्व कूटनीतिमा नेपालकाे सन्देश- हामी ब्लकमा छैनौँ
रराष्ट्रमन्त्री एनपी साउदले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताउनुभएकाे छ ।

युगान्डाको कामपालामा जारी असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार नगर्ने बताउनुभएकाे हाे ।

“हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं,” उहाँले भन्नुभयो  ।

परराष्ट्रमन्त्री साउदले नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको पनि बताउनुभयाे । “आज हामी हाम्रो झन्डै सात दशकको यात्राका क्रममा हामी साझा मूल्यहरूको बारेमा सचेत छौँ । जसले हामीलाई राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, आपसी सम्मान र लाभ, अहस्तक्षेप, र हाम्रोमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी अन्तर्राष्ट्रिय सम्बन्धमा एकसाथ छौँ,” मन्त्री साउदले भन्नुभयाे ।

मन्त्री साउदले बहुपक्षीयता प्रबर्द्धनमा नामले निर्णायक भूमिका खेल्नुपर्नेसमेत बताउनुभयाे । “शान्तिपूर्ण खोज्दै, संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानूनको रक्षा गर्दै विवादहरूको समाधान, विश्वव्यापी वित्तीय संरचना सुधार, साझा समृद्धिको लागि एक मात्र विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्दै नामले भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयाे ।