विस्तारै संकटमा पर्दै छ एमसिसी, पूरा नभए फिर्ता जाने खतरा
अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि पुन: बोलपत्र आह्वान गर्नुपर्ने परिस्थिति बनेसँगै त्यसले पाँच वर्षको समयसीमाभित्र उक्त पूर्वाधार परियोजनाको निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सीमा पूरा गर्न ‘दबाव पर्नसक्ने’ अधिकारीहरूले बताएका छन्।
लामो अन्योलपछि सबै पूर्व तयारी पूरा भएको भन्दै गएको अगस्टमा एमसीसीको पाँच वर्षे दिनगन्ती सुरु भएको थियो।
तर त्यसको केही सातापछि नै प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोटलाई लिएर गतिरोध देखा परेका विवरण आएका थिए।
नेपालको झन्डै एक तिहाइ भूगोल समेट्ने भनिएको उक्त ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माणका लागि इच्छा देखाएका ठेकेदारहरूले आकलन गरिएको लागत मूल्य भन्दा झन्डै ६० प्रतिशत बढी रकम माग गर्दै प्रस्तावहरू हालेका थिए।
त्यसलाई स्वीकार गर्न नसकिने अडान नेपालले राखेपछि उक्त परियोजना कार्यान्वयनको जिम्मा पाएको एमसीए नेपालले त्यसबेला प्रस्तुत गरिएका बोलपत्रहरू अस्वीकृत गरेको थियो।
पाँच वर्षभित्र एमसीसी अन्तर्गतका परियोजनाहरूको निर्माण सम्पन्न नभएको खण्डमा त्यही विन्दुबाट अमेरिकाले नेपालको इतिहासकै सर्वाधिक ठूलो अनुदान सम्झौता अन्तर्गत त्यसबेलासम्म खर्च हुन बाँकी रहने रकम निकासा रोक्ने अधिकारीहरू बताउँछन्।
के भन्छ एमसिए
प्रतिक्रिया माग्दा एमसीए नेपालले भनेको छ, “बोलपत्र अस्वीकार गरिएपछि एमसीए नेपालले बजेट भन्दा बढी लागतको कारणको मुल्याङ्कन गरेको छ र त्यसमा सहभागी ठेकेदारहरूसँग सुझाव लिएको छ। यो सूचनालाई प्रसारणलाइनका प्राविधिक डिजाइन र वातावरणीय सर्तहरूको पुनरवलोकनका लागि उपयोग गरिनेछ। जब पुन: डिजाइनको काम पुरा हुनेछ, एमसीए-नेपालले पुनरवलोकन गरिएको ठेक्का सम्बन्धी दस्तावेजलाई प्रयोग गरी नयाँ ठेक्का लगाउनेछ।”
एमसीए नेपालले यो प्रक्रियालाई द्रुत ढङ्गले अघि बढाउनुपर्ने विषयलाई आफूले आत्मसात् गरेको जनाउँदै ठेक्काको समयसीमा द्रुत बनाउन सबै सम्भव विकल्पहरूलाई ध्यान दिइरहेको पनि उल्लेख गरेको छ।
प्राविधिक र वातावरणीय पुनरवलोकन सम्भव भएपछि मात्रै अद्यावधिक बजेट आकलन गर्न सकिने उसको भनाइ छ।
तर अर्थ मन्त्रालयका कतिपय अधिकारीहरू प्रसारण लाइन निर्माणका लागि ठेक्कापट्टामा देखिएको गतिरोधले उक्त राष्ट्रिय गौरवको आयोजनाको समयसीमालाई पनि प्रभावित पार्नसक्ने ठान्छन्।
अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव धनिराम शर्माले भने, “अलिकति विलम्ब देखा परिसक्यो। सबै पुनरवलोकन गरेर फेरि ठेक्का लगाउँदा त्यो डिजाइन र निर्माण ढाँचाबाट अघि बढाउनुपर्ने परियोजना हो। ठेकेदारलाई डिजाइन गर्नका लागि समय चाहिन्छ।”
उनले थपे, “समयतालिकामा स्वाभाविक रूपमा दबाव पर्छ नै। तर अहिले नै हामीले पाँच वर्षको समयसीमामा काम सकिँदैन भन्ने अवस्था देखिसकेका छैनौँ। तर स्वाभाविक रूपमा यो प्रक्रियाले केही समय लिन्छ।”
एमसीसी अन्तर्गत प्राप्त अनुदानबाट ३१५ किलोमिटर लामो नयाँ विद्युत् प्रसारण लाइन र तीनवटा सबस्टेशन निर्माण गर्ने लक्ष्य राखिएको छ।
असफल हुने खतरा
५ वर्षे कार्यान्वयन अवधिको दिनगन्ती सुरु भए पनि ठेक्का प्रक्रियाको उल्झनमा फसेपछि समयमा पूरा नहुने वा असफल हुने खतरा बढेको छ ।
अन्तर्गतको प्रसारणलाइन परियोजनाको आधारभूत डिजाइन र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमा गम्भीर त्रुटि गरिएका कारण अहिले परियोजना संकटमा परेको हो।
एमसीए नेपालले ठेक्का प्रक्रिया टुंगो नलाग्दै कार्यान्वयन अवधि थाल्दा नै विज्ञहरुले एमसीए नेपालबाट त्रुटि भएको बताएका थिए । उनीहरुले जग्गा प्राप्ति र रुख कटानीको प्रक्रियासमेत प्रारम्भिक अवस्थामै रहेको बेला ५ वर्षे अवधि गणना गर्दा समयमा परियोजना पूरा हुनेमा आशंका गरेका थिए ।
एमसीसी परियोजनामा प्रसारण लाइन र सडक निर्माण सम्बन्धि काम पाँच वर्षभित्र गर्नुपर्ने छ। गत भदौ १३ गतेबाट कार्यान्वयनमा आएको यो दुवै परियोजना पाँच वर्षभित्र सक्नैपर्छ। त्यो सकिएन भने परियोजना असफल हुन्छ र, अमेरिकी अनुदान फिर्ता जान्छ।