झूटा प्रचारको प्रतिवाद गर्ने र सत्य तथ्य दिने पत्रकारको भुमिका हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झूटा प्रचारको प्रतिवाद गर्न पत्रकारहरूलाई निर्देशन दिनुभएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे- जनता र राष्ट्रको पक्षमा सत्य लेख्ने बोल्ने भएकाले यस्ता झूटा प्रचारको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले पहिला भएका भ्रष्टाचारका काण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्यो भन्ने दुष्प्रचार गरेको भन्दै आपत्ति जनाउनुभयाे।
उहाँले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको गन्ध पाएको बताउनुभयाे । उहाँले राष्ट्र, जनता, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको बताउनुभयाे । उहाँले दुष्प्रचार गर्नेहरूलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘अर्बौंको पहिला भएका भ्रष्टाचारका काण्डभन्दा एनसेलमा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ भनेर प्रचार भयो। म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचार र षड्यन्त्रको रूपमा त्यसलाई लिएँ। म राष्ट्र, जनता र लोकतन्त्रको हितमा दृढतासाथ अघि बढेँ। तपाईं हामी जनता र राष्ट्रको पक्षमा सत्य लेख्ने बोल्ने भएकाले यस्ता झूटा प्रचारको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले शहीद, बेपत्ता योद्धाका परिवार लगायत पीडितलाई आइतवार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताउनुभयाे। उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयाे ।
प्रधानमन्त्रीले राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरू सल्बलाएको बताउनुभयाे ।
फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान सत्तागठबन्धन पूरै अवधि कायम रहने बताउनुभयो । उनले एक वर्षको समीक्षा गर्ने र आगामी वर्षका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धतासमेत दोहोर्याए ।
संगठनका अध्यक्ष विष्णु सापकाेटाकाे अध्यक्षता र महासचिव सन्तोष पाैडेलकाे सञ्चालनमा सम्पन्न बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टरका नेता महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलगायतको सहभागिता थियो ।