कोप-२८ मा जताततै नेपालकै चर्चा, प्रचण्डले सुनाए नेपाल पेभिलियनको फेहरिस्त

मूलखबर संवाददाता
काठमाडौं

संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ काठमाडौँ अवतरण गरेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरे।

प्रधानमन्त्री प्रचण्डले आफ्नो यूएई भ्रमण अभूतपूर्वरूपमा सफल भएको बताएका छन्। उनले सम्मेलन अवधिभर ३-४ दिनसम्म सबैले नेपालकै चर्चा र प्रशंसा गरेको बताए। दुबईबाट फर्केर त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमणको सफलताका कारणहरू प्रस्तुत गरेका थिए। उनले पहिले कहिल्यै नभएको अनुभव नेपालले हासिल गरेको बताए। नेपालले पहिलोपटक बेग्लै पेभिलियन पाएको र यसको अधिकतम सदूपयोग गरेको उनले उल्लेख गरे।

उनले भने, ‘अहिलेसम्म कोपको कुनै पनि सम्मेलनमा नेपालको अलग्गै पेभिलियन थिएन रहेछ। पहिलोपटक हामीले पेभिलियन प्राप्त गरेर हस्तक्षेपकारी भूमिका निभाउन सफल भयौं।’ उनले आफ्नो अध्यक्षतामा भएको राउन्ड टेबलमा सबैले नेपालको प्रशंसा गर्न वाध्य भएको बताए। यो सम्मेलनबाट नेपालले पहाडी राष्ट्रहरुको नेतृत्व लिएको सन्देश गएको पनि उनको दावी छ।

जलवायु परिवर्तनले विनाकारण नेपाल जस्ता देशहरुले क्षति बेहोरिरहेको विषयमा आफू विश्व समुदायको ध्यान तान्न सफल भएको र संयुक्त राष्ट्रसंघका महासचिवले समेत नेपाललाई प्राथमिकताको सूचीमा राखेकाले जलवायु अनुकूलनका लागि नेपालमा विदेशीको आर्थिक र प्राविधिक सहयोग आउनेमा अलि ढुक्कको स्थिति बनेको बताए।

‘यो पटक निरीह भएनौं।योद्धाका रुपमा प्रस्तुत भयौं। म सन्तुष्ट छु, जे सोचेको त्यही भयो। नेपाल अहिले विश्वभर चर्चामा छ,’ उनले भने, ‘नेपालले पाउने क्षतिपूर्तिबारे अब साइडलाइन बैठकमा ठोस कुरा हुन्छ।’

सम्मेलनमा उनले जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकहरूमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नुपर्ने, अतिकम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधनका लागि वित्तीय लगानी र प्रविधि परिचालनमा विलम्ब गर्न नहुने लगायतमा जोड दिएका थिए।

सम्मेलनमा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आफ्नो भेटवार्ता भएको जानकारी दिँदै उनले पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारेमा माेदीले चासो दिएका जानकारी दिए ।

साथै मोदीले भूकम्प पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको बताएका उनले सञ्चारकर्मीसँग भने ।

कोप–२८ मा नेपालले आफ्नो अधिकारको विषयमा प्रस्ट दृष्टिकोणका साथ आफ्ना धारणा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘नेपालको जताततै प्रशंसा भयो। यो समान्य छैन।’ हिमाल, पहाड र नेपाल भनेर नै सूत्रबद्ध रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्रीले सम्मेलन सफल भएको उल्लेख गरे।