संवाद कूटनीतिका प्रणेता, किसिन्जरले वासिङ्टनदेखि बेइजिङसँग छोडेको विरासत

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाका भूतपूर्व विदेशमन्त्री तथा भूतपूर्व प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको निधन भएको छ। किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको हो।

उनले निक्सन र फोर्ड प्रशासनको समयमा शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए।

 बेइजिङमा छोडेको विरासत

पदमा रहँदा पनि र नरहँदा पनि किसिन्जर चर्चामा रहिरहने खालका वरिष्ठ कूटनीतिज्ञ थिए।

अमेरिका र चीनबीच सम्बन्ध चिसिएको र दुवै देशले सम्बन्ध सुधार गर्न खोजिरहेका बेला गत जुलाईमा उनले बेइजिङ भ्रमण गरेका थिए।

 त्यस बेला किसिन्जरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो। उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङले स्वागत गरेका थिए।

अमेरिकाले उनी एक नागरिकको रूपमा व्यक्तिगत भ्रमणमा रहेकोमा जोड दिएको थियो।

उनले १०० पटकभन्दा बढी चीनको भ्रमण गरेका थिए। उनलाई “चीनका मित्र” पनि भनिन्थ्यो।

किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई खुला हुन सघाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

किसिन्जरले सन् १९६० र १९७० को दशकमा अमेरिकी विदेशनीतिमा प्रभावशाली भूमिका खेलेका थिए।

उनले सन् १९७३ मा भियतनाममा अमेरिकी संलग्नताको अन्त्यका लागि भएका वार्ताहरूलाई सफल बनाएका थिए।

किसिन्जर सन् १९२३ मा जर्मनीमा एक यहुदी परिवारमा जन्मिएका थिए। नाजीहरूबाट बच्न किसिन्जरको परिवार सन् १९३८ मा आप्रवासीका रूपमा अमेरिका पुगेको थियो।

उनी सन् १९४३ मा अमेरिकी नागरिक बने।

नेपाली सन्तुलित कूटनीतिको प्रशंसा
नेपाली नेताहरूसँगको भेटमा नेपालले अपनाएको कूटनीतिबारे प्रशंसा गरेका किसिन्जरले आफ्नो पुस्तकमा पनि त्यसबारे लेखेका छन्।

किसिन्जरले आफ्नो पुस्तक ‘वर्ल्ड अर्डर: रिफ्लेक्शन अन क्यारेक्टर अफ नेशन्स एन्ड द कोर्स अफ हिस्ट्री’मा नेपालको कूटनीतिक परम्पराको प्रशंसा गरेका छन्।

उनले त्यसमा “शताब्दियौँदेखि नेपालले चीन र भारतका शासक राजवंशबीच आफ्नो कूटनीतिक कुशलतापूर्वक सन्तुलित गर्दै आएको” उल्लेख गरेका छन् [पृ. १७९]।

त्यसमा उनले नेपालले चीन र भारतका शासकहरूलाई पत्राचार र उपहारहरू पठाएर त्यस्तो सन्तुलन कायम गरेको लेखेका छन्।

नेपालले पठाउने उपहारलाई चीनले श्रद्धापूर्वक पठाएको भन्ने उल्लेख गरे पनि नेपालले त्यसलाई समान खालको आदानप्रदानको रूपमा लिने गरेको किसिन्जरले उल्लेख गरेका छन्।

उनले नेपालले चीनसँग विशेष सम्बन्ध राख्दै र भारतसँग पनि त्यसै गर्दै आफ्नो स्वतन्त्रतालाई सुनिश्चित पारेको पुस्तकमा लेखेका छन्।