प्रचण्ड, गगन र देउवाको समान सन्देशः गणतन्त्र उल्ट्याउन दिँदैनौं
प्रमुख दलका शीर्ष नेताले व्यवस्थाविरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगन थापाले समान सन्देश दिँदै व्यवस्थाविरुद्ध प्रचारवाजी नगर्न चेतावनी दिएका हुन्।
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित छैटौं सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको विरुद्ध कहीँकतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताएका हुन्।
उनले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने जिकिर गरे। प्रधानमन्त्री दाहालले यो परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पनि पछाडि फर्काउन नसक्ने बताए।
उनले भने, ‘हुन त मानिसहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको विरुद्ध केहीँकतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएका छन्। इतिहासको चक्कालाई पछाडितिर धकेल्ने कोसिसहरु देखिएकै छ। तर तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्छ। पछाडि फर्कदैन। र, हामी जबसम्म यो परिवर्तनका बाहक राजनीतिक दलहरु, नेताहरु, संघ, संस्थाहरु, बुद्धिजीविहरु, नागरिकहरु, तपाई हामी सबै निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तित्वहरु रहन्छौँ, इतिहास पछि फर्कंदैन, अगाडि नै बढछ।’
देउवाको पनि समान सन्देश
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन्।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए।
सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन।’
सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताए।
गगनले भने- गणतन्त्र उत्कृष्ट व्यवस्था
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राखेका छन्।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन आइतबार आयोजित बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए। उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे।
‘अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ‘गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन।’
नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ।
नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताए। देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उनले अन्य विकल्प खोज्न नपर्ने बताए।