छठमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले के भने ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना दिएका छन् ।
नेपालको तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा शुभकामना दिँदै प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसियाली एवं कृषि युगको निरन्तरताको प्रतिकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको मानिन्छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ ।”
नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको उनको भनाइ छ ।
“छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु,” प्रधानमन्त्रीले भने ।
छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकतावद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास गरेका छन् ।