गणतन्त्रविरोधीलाई प्रचण्डको प्रहारः लफङ्गाहरूले व्यवस्था परिवर्तनको सपना नदेखुन्

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरोधीलाई लफङ्गाको संज्ञा दिँदै ७० वर्ष लडेर ल्याएको व्यवस्थालाई उल्ट्याउन सम्भव नभएको बताएका छन्। तनहुँको आँबुखैरेनीमा शुक्रबार आयोजित अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू एक भएको पनि बताए।

‍‘७० वर्ष लडेर प्राप्त उपलब्धिलाई एक दुई जना हावा, ‘राजनीतिक लफङ्गा’ले उल्टाने कुरा गरेको सुनिन्छ। अनि उनीहरूले गरेको यो सबै नेपाली जनताले बिर्सन्छ त? त्यो उल्टिन्छ त?सम्भव छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

आफूले पछिल्लो समय बढ्दै गएको अराजकताबारे सबै दलहरूसँग सर्वदलीय बैठकमा सोधेको स्मरण गर्दै भने, ‘मैले राजनीतिक दलहरू कति परिवर्तनको पक्षमा छन् भन्ने बुझ्नका लागि बोलाएँ। हामी टुलुटुली हेरेर बस्ने कि यो छाडापन रोक्ने हो? भनेर सोधेँ।’

जवाफमा नेताहरूले आवश्यक परे सडकमा जान तयार भएको पनि बताएका छन्। ‘एउटा कमिटमेन्ट मैले प्राप्त गरेँ। हामी गणतन्त्र र लोकतन्त्रको निम्ति सडकमा जान तयार छौं भनेका छन्। अरु त अरु प्रमुख प्रतिपक्षी दलको नेताले अझै ज्यान छाडेर यसका विरुद्ध जान्छौं भन्नुभयो। विषय गहिरो छ। त्यति सजिलो छैन,’ उनले भने।

स्थानीय सरकार पनि सिहंदरबार नै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश संरचनाहरू ब्यवस्थित बनाउने काम भइरहेको बताए।

‘एकथरी मान्छेहध जो हिजै गणतन्त्रविरोधी थिए। ती मानिसहरूले हलो अड्काउने, गोरु चुट्ने काम गरिरहेका छन्। ऐन बनाउन पनि तिनिहरूले नै रोकिरहेका छन्। मेरो ध्यान संविधानले परिकल्पना गरे अनुसारका सबै अधिकार तल दिँदा पनि भएन,’ उनले भने।

शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने षड्यन्त्र गरिरहेको दाबी गरे । उनले त्यसलाई चिर्न लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सामन्ती तथा निरंकुश शक्तिले पुरानै सत्ता फर्काउन सकिन्छ कि भन्ने सपना देख्न थालेका छन्। उनीहरूले सङ्घीयता, गणतन्त्र, समावेशी–समानुपातिक प्रणालीका विरूद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन्। त्यो कुनै पनि हालतमा सफल हुँदैन। लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो।’’

प्रचण्डले कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? भन्दै प्रश्न पनि गरेका छन् । उनले भने, ‘हजारौं नेपालीमाथि दमन कसले गर्‍यो ? जो सबैभन्दा बढी तानाशाह छन्, फासिष्ट छन्, विकासविरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने ? यस्तो भ्रामक प्रचार र व्यवस्थाविरोधी षड्यन्त्र असफल पार्नुपर्छ। जनता न्यायाधीश हुन्, असफल पार्छन्’

प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पार्ने बताएका छन्।