टिकटक बन्द विरूद्व सर्वोच्चमा रिट, ५ लाख बढि साइटमाथि लागिसकेकाे छ प्रतिवन्ध

मूलखबर संवाददाता
काठमाडौं

टिकटकमाथि प्रतिवन्ध लगाएको विरूद्वमा सर्वाेच्च अदालतमा १० वटा मुद्वा दर्ता भएका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार शुक्रवार अपराह्नसम्म कम्तीमा १० वटा रिट निवेदन दर्ता भएका छन् ।

“सबै रिटलाई एकै ठाउँ राखेर सोमवार प्रारम्भिक सुनुवाइ गर्ने पेसी तोकिएको छ,” उनले भने।

रिट निवेदकहरूले टिकटक बन्द गर्ने निर्णय मौलिक हकविरुद्ध रहेको र यसले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दाबी गरेका छन्।

 लोकप्रिय बनेको टिकटक बन्द हुँदा यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहे पनि नेपाली इन्टरनेटमा बन्द गरिएको यो मात्रै चाहिँ होइन। याेसँगै बन्द भएका साइट र एपकाे संख्या ५ लाख बढि भइसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा बन्द गरिएका सबैभन्दा धेरै वेबसाइट र अनलाइन एप्लिकेशनहरूमा ‘पोर्नोग्राफिक’ भनिने अश्लील वा यौन सामग्रीसँग सम्बन्धित छन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै देशभरि प्रदर्शनहरू भइरहेका बेला विसं २०७५ सालमा सरकारले “इन्टरनेटमा उपलब्ध हुने अश्लील सामग्रीका कारण यौन हिंसाका घटना बढेको” भन्दै त्यस्ता वेबसाइटहरू बन्द गर्ने निर्णय गरेको थियो।

प्राधिकरणका अनुसार नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन जुवासम्बन्धी पनि १०० वटा भन्दा बढी वेबसाइट बन्द गरिएका छन्।