कोशीबाट ओलीले सिकेको दाउ, प्रधानमन्त्रीको लोभ देखाएर उपेन्द्रलाई उचाल्ने प्रयास

मूलखबर संवाददाता
काठमाडौं

कोशीमा एमालेले कांग्रेसभित्रको विद्रोही समूहको उपयोग गरेर मुख्यमन्त्री थमाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नजर प्रधानमन्त्रीको कुर्सीमा परेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि उपेन्द्र हौसिएका छन् ।

ओलीले अध्यक्ष उपेन्द्र यादवसँग नयाँ समिकरण निर्माणको प्रस्ताव पनि राखेका छन् ।

यादवको पार्टी जसपाले अहिलेको कांग्रेस माओवादीसहितको गठबन्धन तोडेर नयाँ समिकरण बनाउन तयार भए प्रधानमन्त्री बन्न समेत सघाउने अफरसहितको प्रस्ताव एमाले अध्यक्ष केपी ओलीले राखेको स्रोतको भनाई छ ।

एमालेले अहिलेको गठबन्धन तोड्न जुनकुनै उपाय अबलम्बन गर्ने सार्वजनिक रुपमा नै बताउँदै आएको छ । त्यही क्रममा चाडवाडको मौका छोपेर एमाले अध्यक्ष ओलीले जसपा अध्यक्ष यादवसँग भेटघाट बाक्लो बनाएको र ती भेटघाटहरुमा यस्तो प्रस्ताव गरेको जसपा निकट सूत्रहरुले बताएका छन् । ओली र यादवबीचको भेटवार्ता देखि नयाँ समिकरण निर्माणको कोसिसका लागि अध्यक्ष यादवलाई फकाउन एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ लगायतका नेता सक्रिय रहेको बुझिएको छ ।

सत्ता गठबन्धन दलहरुका बीचमा सुरुमा माओवादी अध्यक्ष प्रचण्ड, त्यसपछिको एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अन्तिम चुनावी कार्यकालका लागि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गरि प्रधानमन्त्रीको कार्यकाल नै बाँडफाँड गरेको सार्वजनिक भईरहेका बेला ओलीले त्यही गठबन्धनको कार्ड फयाँकेर जसपा अध्यक्ष यादवलाई फकाउन नयाँ अस्त्र फयाँकेका हुन् ।

१० सिट भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवलाई प्रधानमन्त्री बनाउन हुने, १२ सिट भएको तपाईँलाई प्रधानमन्त्री बनाउन किन नहुने भन्दै ओलीले यादवलाई फकाउने थालेको जसपा निकट सूत्रहरुको भनाई छ ।

‘अंकगणित अनुसार १० सिट भएको एकीकृत समाजवादीबाट प्रधानमन्त्री बन्न सक्ने अनि १२ सिट भएको जसपाबाट प्रधानमन्त्री हुन किन नसक्ने ? माधव नेपाल प्रधानमन्त्री बन्न हुने, तपाईँ प्रधानमन्त्री बन्न किन नसक्ने ? गठबन्धन तोडेर आउनुहोस् एमालेले तपाईंलाई प्रधानमन्त्री बनाउन सहयोग गर्छ । पहिलो मधेसीलाई नेतालाई प्रधानमन्त्री बनाउन एमाले सहयोग गरेर जान तयार छ’, ओली निवासमा उपेन्द्र यादवसँग राखिएको नयाँ अफरबारे जसपा निकट सूत्रले बताएको छ ।

तर ओलीको त्यस्तो प्रस्तावमा यादवले कुनै प्रतिक्रिया जनाईसकेका छैनन । यधपी उनले ओलीसँग र एमाले नेताहरुसँगको छलफललाई भने बाक्लो बनाउँदै ओलीबाट आएको प्रस्तावमा भने मौन बसेका छन् ।

‘अध्यक्ष यादवले ओलीको प्रस्तावमा कुनै प्रतिक्रिया जनाईसक्नु भएको छैन । पर्ख र हेरकै नीतिमा देखिनुभएको छ’, जसपा अध्यक्ष यादव निकट स्रोतले भन्यो ।

एमालेलाई एक्लाएर बाहिर राखेर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीले बनाएको केन्द्र देखि प्रदेश सम्मको गठबन्धनले एमाले सबैतिर सरकार बाहिर छ । जसकाकारण पनि एमाले अहिलेको यो गठबन्धन तोड्न लागिरहेको छ ।

के छ संबैधानिक व्यवस्था

नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यको हैसियतले प्रचण्ड अहिले प्रधानमन्त्री छन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रचण्डले विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा (४) बमोजिम ३० दिनभित्र विश्वासको मत नपाएमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

कांग्रेस नफुटेको र कोइराला पार्टी संसदीय दलको नेता नबनेको खण्डमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसपछि संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

‘त्यस्तो अवस्थामा देउवाजीलाई पनि बहुमत पुर्‍याउन नदिने प्रयास हुन्छ,’ जसपाका ती नेताले भने, ‘अनि बल्ल संघमा कोशी मोडल लागू हुन्छ ।’