तिहार र नेपाल संवतमा प्रचण्डको शुभकामनाः राजनीतिक व्यवस्थाको रक्षा गर्ने आधार

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्‍वास व्यक्त गरेका छन्।

उनले नेपालीहरूको महान् पर्व शुभ दीपावलीको अवसरमा सोमबार शुभकामना सन्देश दिंदै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधिनता र स्वाभिमान उच्च राख्‍न ठूलो आधार प्रदान गरेको उल्लेख गरे।

‘परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ,’ उनले भनेका छन्।

उनले तिहार लगायत पर्वहरू विश्‍व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भ भएको उल्लेख गर्दै पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्‍भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउने बताए।

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपाल संवतको पनि शुभकामना दिएका छन्। प्रचण्डले भनेका छन्, “नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ । नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो । शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तक हुनुहुन्थ्यो । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी छ ।”

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौंमा अझै छ ।

आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।