जाजरकोट भूकम्पः साढे २६ हजार घर भत्किए, रुकुममा ८० हजार नागरिक प्रभावित
जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट २६ हजार ५०० वटाभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
गृह मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट २६ हजार ५२० वटा घरमा पूर्ण क्षति भएको पाइएको छ । छिमेकी जिल्ला रुकुम पश्चिममा सबैभन्दा बढी घर ध्वस्त भएको देखिएको छ । जहाँ १६ हजार ५७० घर पूरै ध्वस्त भएको विवरण उल्लेख छ ।
यस्तै जाजरकोटमा ९ हजार ७९४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको पाइएको छ ।
यसैगरी सल्यानका १२९, रोल्पाका १७, जुम्लाका ५, रुकुम पूर्वका २ तथा बैतडी र कालीकोटका १–१ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै ३५ हजार ३९१ वटा घरमा आंशिक क्षति पुगेको विवरण उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोटमा भएको पाइएको छ । त्यहाँका २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।
त्यसैगरी रुकुम पश्चिमका ९ हजार ९४१ घरमा आंशिक क्षति पुगेको पाइएको छ । कतिपय घर सोमवार आएको अर्को भूकम्पले भत्किएका थिए । भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा गरी १५३ जना मानिसको मृत्यु भएको छ भने ३६४ जना घाइते भएका छन् । भौतिक सम्पत्ति र धन तथा चौपायाको पनि थुप्रै क्षति भएको छ ।
अधिकांश घाइते जाजरकोट र रुकुम पश्चिमका भए पनि केही घाइते रोल्पालगायत अन्य जिल्लाका समेत छन् ।
यसैबीच, रुकुमपश्चिम जिल्लाका तीन पालिकामा गरी ८० हजार ७२१ नागरिक प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिका अनुसार ६ वटा पालिका रहेको यस जिल्लामा हालसम्म तीन वटा पालिकाको मात्रै प्रभावित जनसंख्याको विवरण संकलन गरिएको छ।
हालसम्म जौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी नगरपालिकाको मात्रै विवरण संकलन गरिएको हो। यी तीन पालिका मध्ये सबै भन्दा बढी आठबीसकोटमा ४४ हजार तीन सय ६७ नागरिक भूकम्पबाट प्रभावित भएका छन्।
अन्य तीन वटा स्थानीय तह मुसिकोट नगरपालिका, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा भूकम्पबाट प्रभावित तथा विस्थापित नागरिकहरुको विवरण संकलनका लागि टोली खटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बढुवालका अनुसार पुनः कार्तिक २० गते साँझ गएको भूकम्पका कारण भएको क्षतिको विवरण हालसम्म नभएको र विवरण संकलन कार्य जारी रहेको छ।