पीडाको समयमा छिमेकीको मल्हम, राहतमा चीन र भारतले के के दिए

मूलखबर संवाददाता
काठमाडौं

जाजरकोट भूकम्पपछि छिमेकी देश भारत र चीनले सहयोगमा प्रतिस्पर्धा गरेका छन्। भूकम्प पीडितका लागि राहतमा छिमेकी देशको सकारात्मक प्रतिस्पर्धा देखिएको हो।

उत्तरी छिमेकी चीनले गत शुक्रबारको भूकम्पका कारण विचल्लीमा परेका जाजरकोटसहितका पीडितहरूका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ। 

काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङले सोमबार झिलाङ–रसुवागढी नाका हुँदै उक्त मूल्य बराबरको पहिलो लटको राहत सामग्री नेपालतर्फ आइसकेको जानकारी दिए।

राजदूत सोङका अनुसार यो राहत सामग्रीमा २ हजार ३०० टेन्ट, २ हजार कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर सामेल छन्।

राजदूत सोङले ती राहत सामग्रीहरू सीधै जाजरकोट र रुकुम पश्चिमसहितका भूकम्पपीडितहरूलाई पठाइने जानकारी दिए ।

चिनियाँ राजदूत सोङले नेपालको प्राकृतिक विपत्‍को यो घडीमा सबैजना मिलेर संकटलाई टारेर अघि बढ्ने बताए। उनले भूकम्पपीडितको घर पुनर्निर्माणमा पनि सघाउने बताएका छन्।

सोमबार मात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डलाई भेटेका थिए। भेटमा भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका विषयमा दुईजनाबीच कुरा भएको थियो।

शुक्रबार गएको भूकम्पको क्षतिबारे जानकारी पाउनासाथ शनिबार चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको थियो।

आइतबार मात्रै भारतले पनि नेपालका लागि राहत सामग्री सेनाको विशेष जहाजबाट नेपालगञ्जबाट पठाएको थियो। भारतले पनि उक्त राहत सामग्री पहिलो खेप भएको बताउँदै थप पठाउने जानकारी दिएको थियो।

भारतले यसअघि नै सहायता सामग्री पठाइसकेको छ । अहिलेसम्म भारतले पठाएको सामग्रीको विवरण यस्तो छ ।

१) डबल फ्लाई टेन्ट-८४ वटा

२) प्लाष्टिक त्रिपाल:- ६२५ वटा

३) स्लिपिङ ब्याग:- २११२ वटा

४) ब्लांकेट:- २२३० वटा

५) सिंगल फ्लाई टेन्ट:- ६५ वटा

६) स्वास्थोपचार विभिन्न सामग्री:-३००० केजी.

भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप सोमबार हस्तान्तरण गरेको छ ।

भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरे ।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्‍याएको थियो ।

यी राहत सामग्रीको हस्तान्तरण यही कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साका रुपमा रहेको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई हिजो कात्तिक १९ गते हस्तान्तरण गरेको थियो ।