जाजरकोट भूकम्पपछिको परिदृष्यः पीडितका लागि मलमपट्टी बन्दै माओवादी

मूलखबर संवाददाता
काठमाडौं

अहिले सरकारको नेतृत्वमा माओवादी केन्द्र छ। जाजरकोट र रुकुममा गएको भूकम्पपछि देशमा सरकार अभिभावकका रूपमा रहेको अनुभूति जनताले गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सरकार रहेको र आफू अभाभावकीय भूमिकामा सक्रिय रहेको सन्देश निरन्तर दिइरहेका छन्।

माओवादी पार्टीले सरकारबाट मात्र होइन पार्टीका रूपमा पनि भूकम्प पीडितका लागि मलमपट्टीको काम गरिरहेको छ।

आइतबार मात्र माओवादी केन्द्रले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले भूकम्प पीडितका लागि राहतस्वरुप तत्काल ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले पार्टीका भौगोलिक र गैरभौगोलिक सबै प्रदेश समितिहरुले कम्तीमा १ लाख रुपैयाँ रकम जम्मा गरी विद् कोषमा पठाउन निर्देशन दिएको छ । बैठकले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

यो पनि हेर्नुस्

भूकम्पमा सरकारको अविराम सक्रियता, यी हुन् प्रचण्डले गराएका जनपक्षीय निर्णय

जाजरकोट भूकम्पमा प्रचण्डले देखाएको उदाहरण, सरकार जनताको सच्चा अभिभावक

बैठकले मंसिर २२ गतेका लागि तय भएको बृहद् जनपरिचालनको कार्यक्रम पनि स्थगित गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले जाजरकोट भूकम्पका कारण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए ।

‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ महासचिव गुरुङले भने ।

सत्ताको नेतृत्वकर्ता भएर पनि जनप्रदर्शन गर्ने भनेर माओवादीको चर्को आलोचना भइरहेको थियो । त्यही आलोचनालाई थेग्न गाह्रो भइरहेका बेला माओवादीले भुकम्पको बाहानामा कार्यक्रम स्थगित गरेको हो ।

माओवादीले तीनमहिने पार्टी रूपान्तरण अभियानअन्तर्गत कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकले जाजरकोट भूकम्पका कारण अभियानअन्तगर्त चियापान, शुभकामना आदानप्रदान कार्यक्रम पनि नगर्ने निर्णय गरेको छ । संगठनात्मक कार्यक्रम भने जारी राखिने महासचिव गुरुङले बताए ।

‘भूकम्प प्रभावित क्षेत्रका साथीहरूले राहत, उद्धारमा खटिएर नै संगठनको काम गर्ने,’ गुरुङले भने, ‘अन्य ठाउँमा भने चियापान, शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने तर संगठनात्मक भने जारी राख्ने निर्णय गरेका छौँ ।’

प्रवासमा पनि अपील

माओवादी केन्द्रको प्रवास समन्वय समितिले जाजरकोट भूकम्प पीडितको उद्धार, राहत र पुनर्निर्माणको कामका खटिन अपिल गरेको छ ।

समितिका अध्यक्ष ओम शर्माले आइतवार एक विज्ञप्ति प्रकाशित गरी विश्वभर रहेका सदस्य र शुभचिन्तकलाई पुनः निर्माणको काममा आ-आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका हुन् ।

समग्रमा माओवादी यसपटक भूकम्प पीडितका लागि सरकार र सडक दुवै स्थानमा जनताको सेवकका रूपमा पुष्टि गर्न सफल भएको छ। सरकारबाट प्रचण्डले यसअघि कहिल्यै नदेखिएको सक्रियता देखाएका छन् भने माओवादी नेता कार्यकर्ताले पीडित जनतासँग सक्रिय भएर काम गरिरहेका छन्।