राष्ट्रसंघ महासचिवको नेपाल भ्रमणः आज संघीय संसदमा सम्बोधन

मूलखबर संवाददाता
काठमाडौं

संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज (मंगलबार) सम्बोधन गर्दैछन् । चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक लाई सम्बोधन गर्ने कार्यसूची छ ।

बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थितिका लागि विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको जनाएको छ ।

सम्बोधनको जानकारी आइतबार नै प्रतिनिधि सभा बैठकमा दिइएको थियो । गुटेरेसको सम्बोधन हुनुभन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका थिए । साथै उनले औपचारिक पोसाकमा आउनसमेत आग्रह गरेका थिए ।

राष्ट्रसंघका महासचिवले संसद्मा सम्बोधन गर्न लागेको यो पहिलोपटक हो । यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा सांसदलाई सम्बोधन गरेका थिए । मुनले सन् २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा नेपाल भ्रमण गरेका थिए ।

मुलुकमा गणतन्त्र स्थापनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गरेका थिए । त्यसपछि संसद्लाई सम्बोधन गर्ने नेपालबाहिरका विशिष्ट व्यक्ति गुटेरेस हुने भएका छन् ।

आज विहान महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन्।

लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि संसद् परिसरमा पत्रकार सम्मेलन गर्नेछन्। कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ।