गाजाको इजरायलको अत्याचार, अस्पतालमा आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु

मूलखबर संवाददाता
काठमाडौं

इजरायलले गाजाको एक अस्पतालमा गरेको हवाई आक्रमणमा ५ सय भन्दा धेरैको मृत्यु भएको बताइएको छ । मंगलबार राति इजरायलले अल अहली अरब अस्पतालमा हवाई आक्रमण गर्दा ठूलो मानविय क्षति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अस्पतालबाट आएका तस्वीरले अराजकताका दृश्य देखाएको बीबीसीले जनाएको छ । रगतले लतपतिएका र अशक्त घाइतेलाई अन्धकारमा स्ट्रेचरहरूमा बाहिर निकालिएको छ। अप्रमाणित भिडियोहरूले ठूलो विस्फोट भएको देखिन्छ। अस्पताल परिसरमा रहेको हलमा सयौं विस्थापित व्यक्तिले आश्रय लिएको स्थानीयले बताएका छन् ।

प्यालेस्टिनी अधिकारीहरुले इजरायली हमलामा ५०० भन्दा बढिको मृत्यु भएको बताएका छन् । सयौं मानिस भग्नावशेषमा फसेको बताइएको छ अस्पतालको धेरै भाग आगोले जलेर नष्ट भएको छ । इजरायली सेनाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । सेनाका प्रवक्ताले घटनाको कारण थाहा नभएको र विस्तृत विवरण खोजिरहेको बताएका छन्।

प्यालेस्टिनी अतिवादी समूह हमासले यसलाई युद्ध अपराध भनेको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । भ्रमणमा उनले गाजामा हमासविरुद्ध भूमिगत आक्रमण गर्ने इजरायलको योजनाबारे बुझ्ने बताइएको छ ।

यस्तै, इजरायलले सर्वसाधरणको हताहत कम गर्ने तरिकाले कसरी आफ्नो आक्रमण गर्नसक्छ भनेर पनि उनले छलफल गर्ने बताइएको छ ।

गाजामा हमासविरुद्ध इजरायलले व्यापक आक्रमण गरिरहेको छ तर, यसमा प्यालेस्टाइनीहरूले ठूलो संकटको सामना गरिरहेका छन् । यसबीच इरानले इजरायलविरुद्ध पूर्व–प्रभावकारी एक्सन चाल्ने चेतावनी दिएको छ ।

यसले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह मिलिसियाको संलग्नताको संकेत गरेको छ । इजरायलमा अक्टोबर ७ यता हमासको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३०० नाघेको छ । इजरायलले गाजामा गरेको जवाफी हमलामा दुई हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।