पेट्रोल पम्पको छड्के अनुगमन, तीनकुनेको भ्यालीबाबा पम्पमा सिल

मूलखबर संवाददाता
काठमाडौं, ३० असाेज

काठमाडौं । सरकारले काठमाडौंका पेट्रोल पम्पमा छड्के अनुगमन गरेको छ।

हेलो सरकारमा काठमाडौंका केही पम्पले सरकारले दसैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसललगायतका गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए।

वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको टोलीले पम्पहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको छ। उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको हो।