प्रचण्डको प्रशंसा गर्दै उपेन्द्र यादवले भने– हामी साथ दिन तयार छौं
कैलाली । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लो नहुने बताएका छन् ।
समाजवादका पक्षधर क्रान्तिकारी शक्ति एकठाउँमा आउनुपर्छ भन्ने उद्देश्यले मोर्चा गठन गरिएको भन्दै यादवले मोर्चाका पहलकर्ता माओवादी अध्यक्ष प्रचण्डसँग एक्लो नहुने बताए । मोर्चाका सबै घटक माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई साथ दिन तयार रहेको उनको भनाइ छ ।
‘प्रधानमन्त्री प्रचण्डले चाहेर पनि एक्लो हुनसक्ने अवस्था छैन,’ समाजवादी मोर्चाले आज सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै यादवले भने, ‘जनताका लागि मिलेर काम गर्नुपर्छ भनेर हामी क्रान्तिकारी शक्ति एक ठाउँमा आएका हौं ।’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ‘जनयुद्धका नायक’ भनेर प्रशंसासमेत गरे ।
जनयुद्धका नायक प्रचण्डले नेतृत्व गरिरहेको सरकारले हालसम्मका राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्ने काम गरिरहेको भन्दै यादवले भने, ‘अहिलेको सरकारले परिवर्तन संस्थागत नगरे अरु कुनै प्रतिगमनकारी शक्तिले गर्न सक्दैन ।’ प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गरिरहेको राम्रा कामबाट प्रतिगमनकारी शक्तिहरुले चलखेल गर्ने कोसिस गरिरहेको भन्दै यादवले त्यस्ता शक्तिलाई सरकार, सदन र आवश्यक परेमा सडकबाट पनि परास्त गर्ने बताए ।
समाजवादी मोर्चाले गणतन्त्र विरोधीलाई पाखा लगाउने, गणतन्त्रलाई संस्थागत गर्ने र जनताको सुशासन र विकासको चाहना पूरा गर्ने यादवले बताए ।