वार फुटिङमा काम गर्दै प्रचण्ड सरकारः इजरायलबाट नेपाली फर्काइँदै
प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई ल्याउने प्रक्रिया अबिलम्ब अघि बढाउन निर्देशन दिनुभएको छ। सोहीअनुसार प्रक्रिया अघि बढिसकेको छ।
सरकारले वार फुटिङमा काम गरिरहेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल भएको घटनामा परी मृत्यु भएकाको शव ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहनेलाई नेपाल ल्याउने निर्णय गरेको थियो । सोही निर्णयहरुलाई गृह मन्त्रालयले कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,’यस सम्बन्धमा इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी नेपाल ल्याउन प्रबन्ध गर्ने लगायतका मन्त्रिपरिषद्का निर्णयहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने प्रक्रिया अगाडि बढिसकेको छ ।’
नेपाल फर्कन इच्छुकहरुको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।
त्यसैगरी, तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।
घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।
“हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’
मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।
इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।