इजरायलमा मृत्यु भएकाका परिवारलाई १० लाख राहत, मंगलबार राष्ट्रिय शोक
काठमाडौं । इजरायलमा मृत्यु भएका १० जना नेपालीहरुको सम्झनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मंगलबार एक दिन राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय गरेको हो ।
त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाका परिवारलाई १०/१० लाख रूपैयाँ राहत दिने निर्णय पनि भएको छ ।
सोमबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले मंगलबार शोक बिदा नदिइएको जानकारी दिइन् ।
साथै सरकारले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्काउने निर्णय गरेको पनि शर्माले जानकारी दिइन् ।
गत शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीहरुको मृत्यु भएको थियो । केही नेपालीहरु घाइते र केही बेपत्ता छन् । केही नेपालीहरु बंकरमा बसेर ज्यान जोगाइरहेका छन् ।
मृतकको शव नेपाल ल्याउने, घाइतेहरुको उपचार गर्ने र समस्यामा परेका अन्य नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
त्यसका लागि नेपालस्थित इजरायलका राजदूत, इजरायलस्थित नेपालका राजदूत लगायतसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री एनपी साउदले पहललाई तीव्रता दिएका छन् ।
इजरायलको बंकरमा लुकेर बसेका नेपाली विद्यार्थीहरुसँग आजै दिउँसो प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री साउदले भर्चुअल कुराकानी गर्दै धैर्य गरेर बस्न आग्रह गरेका थिए ।
यो पनि पढ्नुहोस्
इजरायलबाट नेपालीको उद्धार गर्न सरकार सक्रिय, बंकरमा बसेका विद्यार्थीसँग प्रचण्डको कुराकानी
(भोलि सार्वजनिक बिदा दिइने भनेर मन्त्रिपरिषदका एकजना सदस्यले दिएको सूचना गलत पुष्टि भएकाले क्षमायाचनासहित सच्याइएको छ । – सं)