सरकारमाथि जनताको खबरदारी आवश्यक : प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र राज्यमाथि जनताको प्रत्यक्ष निगरानी र खबरदारी आवश्यक रहेको बताएका छन् । यसो हुन सकेमात्र लोकतान्त्रिक प्रणाली बलियो हुने उनको धारणा छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुंगानाले लेखेको पुस्तक ‘स्थानीय सरकारः अपेक्षा र अवस्था’ को आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताए ।

संघीय लोकतान्त्रि गणतन्त्रलाई सुदृढ गर्नुपर्ने बेलामा यसैमाथि कतिपयले प्रश्न उठाउने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रतिक्रान्तिकारीलाई परास्त गर्नुपर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो भन्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने बेला–बेलामा प्रयत्न हुने गरेको छ, यस्तो बेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी छ ।’

यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डाले एकथरी व्यक्ति भने ऐन–कानुन बनाउने काम नहोस् भन्ने मानसिकतामा रहेको टिप्पणी गरे । लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठीक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने कसरत विभिन्न कोणबाट देखापरेको उनको भनाइ छ ।

गाउँ–गाउँमा सिंहदरबार पुगे पनि सिंहदरबारको भ्रष्टाचार पनि गाउँ–गाउँमा पुगेको भनेर प्रचार गरिएकाले स्थानीय सरकारको महत्व र आवश्यकताबारे प्रशिक्षित गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए ।

पूर्वउपमेयर ढुंगानाले लेखेको ‘स्थानीय सरकारः अपेक्षा र अवस्था’ नामक पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक तथा व्यवहारिक कृति भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाइ व्यक्त गर्दछु,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय सरकारको काम कारबाहीका बारेमा बुझ्न पुस्तक सहयोगी हुने बताए ।

यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले जनताको घर आँगनको सरकारका रुपमा रहेको स्थानीय निकायलाई के कसरी सबल र सक्षम बनाउन सकिन्छ भन्नेबारेमा सरोकार भएका सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए ।