अनन्त भन्छन्- ओलीको अभिव्यक्तिको प्रतिवाद गर्छौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले शान्ति प्रक्रियाबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आफूहरुले राजनीतिक प्रतिवाद गर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक विषयको प्रतिवाद रानजीतिक तवरले नै गर्ने बताए ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने भनेर सरकारले गरेको निर्णय खारेज नगरे ‘कदम चाल्ने’ चेतावनी दिएका थिए ।
एमाले संस्थागत रुपमै शान्ति प्रक्रियासहित त्यसयताका सबै राजनीतिक प्रक्रियामा सहभागी हुँदै आएको भन्दै पुनले मुलुकको प्रमुख समस्याबाट एमाले अलग रहन नसक्ने टिप्पणी गरे ।
एमाले र आफ्नो दल मिलेर तत्कालीन नेकपा बनेको स्मरण गर्दै पुनले त्यतिबेलाका दस्तावेजमा आफूहरुको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताबारे आधिकारिक दस्तावेजमा धेरै विषय उल्लेख गरिएको सम्झिए । ‘एमाले र हामी मिलेर नेकपा बनायौं, पार्टी एकतापछि सँगै चुनावमा गयौं । सरकारमा सहकार्य गरेका छौं’, पुनले भने, ‘संविधानको प्रस्तावनामै जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको बलमा अहिलेको व्यवस्था स्थापना भएको कुरा लेखिएको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्ध र त्यसको योगदानबारे धेरै ठाउँमा उल्लेख गरिएको छ ।’
उनले उक्त यथार्थ स्वीकार नगर्ने भए राजनीतिक परिवर्तन स्वीकार नगरको अर्थ लाग्ने तर्क गरे । यद्यपि पुनले शान्ति प्रक्रिया निस्कर्षमा पुर्याउन एमाले बाधक बन्छ भन्ने आफूले नठानेको बताए ।
सेना समायोजन र संविधान लेखनमा एमाले र आफ्नो दलबीच सहकार्य भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काममा पनि सहकार्यको विकल्प नरहेको उल्लेख गरे । ‘हिजो हामीले मिलेरै सेना समायोजन गरेका हौं । मिलेरै संविधान बनायौं । शान्ति प्रक्रियाका बाँकी काम पनि मिलेरै टुंगोमा पुर्याउँछौं’, पुनले भने, ‘एमाले संस्थागत र आधिकारिक रुपमै शान्ति प्रक्रियाको खिलाफमा छ भन्ने लाग्दैन र उसले त्यस्तो गर्नु पनि हुन्न ।’ शान्ति प्रक्रियाको सुरुदेखि नै एमालेले स्वामित्व लिएको र बाँकी काममा पनि उसको स्वामित्व रहने उनले स्पष्ट गरे ।
पुनले शान्ति प्रक्रिया टुंग्याउने क्रममा दुवै पक्षबाट पीडित भएकाहरुले बिना भेदभाव न्याय पाउनुपर्नेमा आफूहरु सचेत रहेको बताए ।
।
बुधबार नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले पनि नेकपा एमालेसहितको विगतको सत्ता गठबन्धनकै बेला मन्त्रिपरिषदले जनयुद्ध दिवस मनाउने प्रस्ताव पारित गरेको स्पष्ट पार्दै ओलीले बोल्दैमा केही नहुने बताएकी थिइन् ।